News

त्रिविको जग्गा मिचेर बाटैबाटो

त्रिविको जग्गा मिचेर बाटैबाटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने ।

 

यसको अभियन्ता थिए, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसमेत गराउन चाहेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठूला गाडी चल्छन् । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारका लागि निर्माणाधीन भवनको पछाडिपट्टि जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गा चर्को मूल्य लिएर भाडामा लगाउन र व्यापारिक भवन बनाउन थालिएको छ । बाटो खोलेसँगै घरको कोठासमेत भत्काएर सटर राख्ने क्रम बढेको छ ।

 

बाटो खोलिएपछि त्रिविले आफ्नो जग्गा छाडेर काँडेतार लगाएको छ । विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउनेसर्तमा बाटो खोल्न दिइएको हो । ‘धेरै प्रयास गर्दा पनि रोक्न सकेनौं,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

त्रिभुवन विश्वविद्यालय

विशेष