News

चक्रपथ विस्तारमा चिनियाँ पक्ष इच्छुक, नेपालको छैन सुरसार

चक्रपथ विस्तारमा चिनियाँ पक्ष इच्छुक, नेपालको छैन सुरसार

काठमाडौं । कलंकीदेखि महाराजगन्ज हुँदै कोटेश्वरसम्मको चक्रपथ सडकको बाँकी खण्ड विस्तारको अझै सुरसार भएको छैन । चिनियाँ पक्षले यसको विस्तृत अध्ययन गरी डिजाइन तयार पारे पनि नेपाल पक्षले प्रारम्भका कार्यतर्फ ध्यान नदिएको बताउन थालिएको छ ।

 

चिनियाँ पक्षले कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो पार्नुका साथै यसअघि नै कलंकी–महाराजगन्ज ८ किमि खण्डको विस्तृत अध्ययन गरेको थियो । तर नेपाल आउने समय भए पनि चिनियाँ पक्ष आउने मितिको टुंगो नभएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा बताउन्छन् ।
चक्रपथको बाँकी खण्डको आर्थिक र प्राविधिक सहयोग चिनियाँ पक्षले नै गर्ने बताइएको छ । तर यसअघि नेपाल पक्षले बाटोमा पर्ने संरचना, बिजुलीको पोल, रूख हटाउनुपर्ने हुन्छ । यसतर्फ नेपाल पक्षको ध्यान अझै गएको देखिँदैन ।

 

सडक विभागका प्रवक्ता मुक्ति गौतम उक्त काम चक्रपथ सुधार योजनाले गर्नुपर्ने बताउछन्। उनका अनुसार चिनियाँ पक्षले सर्भे गरेर डिजाइनको काम गरिरहेको छ । इन्जिनियर शर्माचाहिँ कोटेश्वर–कलंकी खण्डको काम सम्पन्न गर्ने योजनाको लक्ष्य भए पनि थप जिम्मेवारी नआएकाले चक्रपथको कामतिर ध्यान नगएको दाबी गर्छन् ।

 

तर कोटेश्वर–कलंकीजस्तै रफतारमा बन्नुपर्ने चक्रपथको बाँकी खण्ड नबन्दा अन्योल सिर्जना भएको छ । सडक साँघुरिएकाले जामको समस्या बढेको छ । हाइटेन्सन लाइन, नाङ्गो बिजुलीको तार, पोल, रूखको व्यवस्थापन नहुँदा सवारी आवागमनमा अप्ठेरो परिरहेको छ । विभागले अहिलेसम्म दूरसञ्चार, विद्युत् प्राधिकरणलगायतलाई बिजुलीको तार, पोल, ढल हटाउन पत्रचारसमेत गरेको छैन ।

 

विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केशवकुमार शर्मा यस विषयमा बुझिरहेको बताउछन् । विस्तारपूर्वक नेपाल पक्षले यी सबै हटाएर सहयोग गर्नुपर्नेहुन्छ। विभागले निर्माण थालेको तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको उक्त खण्ड ६ अर्ब लागतमा बन्ने अनुमान गरेको छ। यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।

चक्रपथ

विशेष