News

तीन नदीमा तटबन्ध बनाइदिन भारत सहमत   

तीन नदीमा तटबन्ध बनाइदिन भारत सहमत   

नयाँदिल्ली । भारत नेपालको पश्चिम राप्ती, बाँडगंगा र खाँडो नदीहरूमा तटबन्ध निर्माण गरिदिन सहमत भएको छ । नयाँदिल्लीमा शुक्रबार सम्पन्न नेपाल-भारत सचिवस्तरीय संयुक्त जलस्रोत समिति (जेसीडब्लूआर) को आठौं बैठकमा यस्तो सहमति भएको हो । बैठकमा २ देशबीच करिब आधा दर्जन विषयमा सहमति भएको छ । 

 

दुई वर्षपछि सम्पन्न नेपाल-भारत संयुक्त स्थायी प्राविधिक समिति (जेएसटीसी) को दुईदिने बैठकमा जलस्रोतसम्बन्धी द्विपक्षीय आयोजनाहरूको कार्यान्वयनको अवस्थाका विषयमा समेत छलफल भएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए । बैठकमा महाकाली सन्धिअन्तर्गत टनकपुर बाँधदेखि नेपालतर्फको नहर संरचनासम्म जोड्ने सहायक नहर, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनालगायत विषयमा छलफल भएको बताइएको छ ।

 

दुई देशबीच महाकाली सन्धि भएको २३ बितिसक्दा पनि त्यसअन्तर्गत निर्माण हुनुपर्ने महाकाली सिँचाइ आयोजना भारतले लिंक नहर समयमा निर्माण नगरिदिँदा अझै सञ्चालनमा आउन सकेको छैन । भारतले गत भदौमा मात्र उक्त लिंक नहर निर्माणका लागि टेन्डर खोलेको छ साथै लालबकैया, कमला र वाग्मतीको तटबन्ध निर्माणका लागि भएको खर्चमध्ये नेपाललाई भुक्तानी गर्न बाँकी करिब २६ करोड रुपैयाँ दिन पनि भारत तयार भएको छ ।

 

बैठकमा टनकपुर बाँधदेखि नेपालतर्फको महाकाली सिँचाइको तेस्रो चरणअन्तर्गत हेड रेगुलेटर यसअघिको सहमतिअनुसार निर्माण गर्न पनि भारत सहमत भएको बैठकमा सहभागी एक उच्च अधिकारीले बताए । बैठकमा सिँचाइ विभागद्वारा गठित प्राविधिक समितिको सुझावअनुसार हेड रेगुलेटरको सिल लेभल समुद्री सतहबाट २४४.२५ मिटर राख्न सहमति भएको थियो ।

 

नेपालतर्फको महाकाली सिँचाइ आयोजनाको नहर संरचना निर्माण अन्तिम चरणमा छ । महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट एक हजार क्युसेक पानी नेपालले पाउने व्यवस्था गरिएको थियो तर आवश्यक संरचना समयमै पूरा नहुँदा नेपालले टनकपुर बाँधबाट निर्धारित परिमाणको पानी पाउन सकेको छैन । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

राप्ती नदी खाँडो नदी बाँडगंगा नदी तटबन्ध

विशेष