News

लेन अनुशासन पालना नगर्ने १४ हजार चालक कारवाहीमा

लेन अनुशासन पालना नगर्ने १४ हजार चालक कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । 

 

महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताए । “आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो”, उनले भने । 

 

महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ । 

 

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई रु ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् ।

कारबाही

विशेष