News

राजधानीमा ६१ ‘स्मार्ट सार्वजनिक शौचालय’ थपिदैं

राजधानीमा ६१ ‘स्मार्ट सार्वजनिक शौचालय’ थपिदैं

काठमाडौं । महानगरपालिकाले ६१ वटा नयाँ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने गृहकार्य अघि बढाएको छ । राजधानीको सार्वजनिक स्थलहरूमा मानिसहरूको चाप अत्यधिक हुने भएकाले महानगरले ६१ स्मार्ट शौचालय थप्ने गृहकार्य अघि बढाएको हो ।

 

हाल महानगरको विभिन्न स्थलहरूमा ५७ सार्वजनिक शौचालय स्थापना गरिएको छ । तर, तीमध्ये कुनै पनि स्मार्ट र आधुनिक छैनन् । यी सार्वजनिक शौचायल सडक छेउ, बस पार्क, धार्मिक स्थल र आकाशे पुलमुनि स्थापित छन्, जहाँ सर्वसाधारणले शौच गरेवापत २ देखि १० रुपैयाँसम्म तिर्नुपर्छ ।

 

काठमाडौं महानगरपालिकाका सहरी योजना आयोग सदस्यसचिव तथा सहरी योजनाविद् सरोज बस्नेतका अनुसार स्मार्ट शौचालय इन्टरनेट सुविधाले सुसज्जित हुनेछ । प्रयोगकर्ताले इन्टरनेटबाट गुगल मानचित्रको सहायताले नजिकको सार्वजनिक स्मार्ट शौचालयको स्थान पत्ता लाउन सक्नेछन् ।

 

त्यसैगरी, त्यस स्मार्ट शौचालयको अवस्थाबारे सर्वसाधारणले इन्टरनेटमार्पmत प्रतिक्रिया दिन सक्नेछन् । प्रायः प्रयोगकर्ताले मोबाइल फोन चलाउने भएकाले इन्टरनेट सुविधा प्रयोग गरी प्रतिक्रिया जमर्को गर्ने सजिलो वातावरण भएको हो । ‘स्मार्ट शौचालयमा प्रयोगकर्ताले प्रतिक्रिया दिनु आवश्यक छ । तिनीहरू स्मार्ट शौचालय सफा वा फोहर, राम्रो वा नराम्रो, चिप्लो छ वा चिप्लो छैन, खत्तम वा अतिउत्तम छ जस्ता प्रतिक्रियाहरू दिन सक्नेछन्,’ बस्नेतले भने ।

 

यद्यपि, ती स्मार्ट शौचालयमा कस्ता किसिमका सुविधा राख्ने भन्ने विषयमा महानगरले थप योजना बनाइएरहेको छ ।यसमा सिक्का हालेर खोलिने ढोका हुनेछ र प्रयोगकर्ताहरूलाई सुविधाको प्रयोगबारे बोलेर निर्देशन गर्ने ध्वनि प्रविधिले युक्त हुनेछ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

सार्वजनिक शौचालय काठमाडौं

विशेष