News

नेपालबाट तीन सय ७३ चिनियाँ निष्कासित, इरानी विशेष निगरानीमा

नेपालबाट तीन सय ७३ चिनियाँ निष्कासित, इरानी विशेष निगरानीमा

काठमाडौं । भिसामा तोकिएभन्दा बढी समय बसोबास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिबिना (ओभर स्टे) नेपालमा बसेको भन्दै देशनिकाला गरेको हो। सन् २०१८ मा तीन सय ७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ।

 

चिनियाँ नागरिक पर्यटक भिसामा आएर विकास निर्माणका काममा खटिँदै आएका छन्। पछिल्लोपटक गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो। उनीहरू सांघाई कन्स्ट्रक्सन ग्रुपअन्तर्गतका कर्मचारी थिए।

 

पर्यटक भिसामै आएर परियोजनामा काम गर्ने र भिसाको समय नथप्ने भएकाले उनीहरूलाई निष्कासन गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक एवं सहसचिव ईश्वरराज पौडेलका अनुसार चिनियाँ कम्पनीले ठेक्का लिएका विभिन्न परियोजनामा कार्यरत धेरैजसो कर्मचारी निष्कासनमा परेका छन्। 

 

सन् २०१८ देखि भने पर्यटक भिसामा अमेरिकी नागरिक एक सय ८० दिन बस्न पाउने नयाँ व्यवस्था गरिएको छ। तर चिनियाँ नागरिकको हकमा त्यो व्यवस्था छैन। उनका अनुसार नेपाली नागरिकसँग विवाह गरेर बसेको तर विवाह दर्ता नगरेका चिनियाँ व्यक्ति पनि निष्कासनमा परेका छन्। 

 

इरानी विशेष निगरानीमा
नेपालमा बस्दै आएका इरानीलाई विभागले विशेष निगरानी गर्दै आएको छ। अध्यागमन विभाग स्रोतका अनुसार विभिन्न मुद्दामा कैद सजाय पाएका, नक्कली राहदानी बोकेर नेपाल आएका, बिनाअनुमति नेपाल बसेका इरानीहरू निष्कासित भएका छन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

गृह मन्त्रालय चिनियाँ निष्कासित

विशेष