निगमको बोइङ ‘गण्डकी’ आज नेपाल ल्याइँदै
काठमाडौं । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ आज (मंगबलार) नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) आइतबार मलेसिया गएका थिए । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो । ‘बोइङको पुरै मर्मत भइसकेको छ, सि–डक्ट पनि परिवर्तन गर्नुपर्ने भएकाले मर्मतका लागि बढी समय लागेको हो, बोइङ आज नेपाल फर्किंदैछ’ सहायक प्रवक्ता कोइरालाले भने।
निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ । बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ । जहाज बिक्रीका लागि निगमले मूल्य निर्धारण गरी कागजात मन्त्रालय पठाएको छ । वाइड बडी विमान खरीद प्रकरणको विषयले जहाज बिक्रीमा पनि कठिनाइ भएको निगमका अधिकारी बताउँछन् ।
निगमका निर्देशक रवीन्द्र श्रेष्ठले बोइङ बिक्रीका लागि मूल्य निर्धारण भइसकेको र सैद्धान्तिक सहमतिका लागि मन्त्रालय पठाइएको जानकारी दिए । तर, वाइड बडीको विवादित विषयले अब उक्त काममा पनि व्यवधान खडा भएको उनको भनाइ छ । सानो वायुसेवा कम्पनीले वाइड बडी, बोइङजस्ता थरीथरीका जहाज राख्दा प्राविधिक तथा व्यवस्थापकीय जटिलता हुने र सबैको अलगअलग इञ्जिनीयर पाइलटको व्यवस्था गर्नुपर्ने भएकाले बोइङ बिक्री गर्न लागिएको निगमको भनाइ छ ।
नेपाल वायुसेवा निगम बोइङ गण्डकी