विदेश

विश्वकै सबैभन्दा ठूलो ‘कुम्भ मेला’ सुरु

विश्वकै सबैभन्दा ठूलो ‘कुम्भ मेला’ सुरु

एजेन्सी । भारतको प्रयागराजमा विश्वकै सबैभन्दा लामो ‘कुम्भमेला’ सुरु भएको छ । १२ वर्षे उक्त मेला मंगलबार सर्वप्रथम शाही स्नान गराएर सूरुवात गरिएको हो । मेला करिब ४५ दिनसम्म चल्नेछ ।

 

मंगलबार बिहान साधु–सन्तहरूले शाही जुलुस निकाल्दै शाही स्नान सुरु गरेका छन् भने सबै ठाँउका लागि छुट्टाछुट्टै स्नान समय निर्धारणसमेत गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मेलामा करिब १२ करोड तीर्थयात्रीहरू आउने अनुमान छ । मेला भर्न र स्नान गर्न भारतभरि तथा नेपाल र अन्य विभिन्न देशबाट तीर्थयात्रीहरू भारत पुगेका छन् ।

 

यो मेला गत वर्ष साउदी अरेवियामा आयोजित विशाल हज तीर्थभन्दा ठूलो हुने जनाइएको छ । फ्रेब्रुअरी ४ का दिन मात्रै ३ करोड तीर्थालुहरूले सो स‌ंगलस्थलमा स्नान गर्ने अनुमान छ ।

 

यो अवसरमा पवित्र पौराणिक नदीहरू गङ्गा, यमुना र सरस्वतीको सङ्गममा हिन्दू धर्मावलम्बीहरूको ठूलो घुइँचो लाग्छ । आउँदो फ्रेब्रुअरी ४ का दिनलाई सो सङ्गममा स्नान गर्ने सबैभन्दा उत्तम दिन मानिएको छ ।

 

प्रत्येक १२ वर्षमा आयोजना हुने सो कुम्भ मेलाको मिति, अवधि र स्थान ज्योतिषशास्त्रअनुसार पहिले नै तय गरिएको हुन्छ । यसपालीको मेलामा आउने तीर्थयात्रीका लागि निःशुल्क खानेबस्ने व्यवस्थासमेत मिलाइएको छ ।


 

 

कुम्भ मेला

विशेष