News समाज

कालीगण्डकीमा भक्तजनको घुइँचो

कालीगण्डकीमा भक्तजनको घुइँचो

पर्वत ।  मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

 

उत्तरायण शुरु हुने भएकाले आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पूण्यदायक मानिने भएकाले बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँ पुललगायतका स्थानमा भीड लागेको हो । मोदीवेणीमा बिहानैदेखि भजनकीर्तन पनि शुरु भएको छ । 

 

बिहानै कालीगण्डकीमा स्नान गरेर तील दान गर्नाले सुन दान गरेसरहको पूण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनीहरु स्नान गर्न आएका हुन् । नजिकका भक्तजन बिहानै कालीगण्डकीमा पुगेका छन् भने टाढाटाढाबाट आउनुपर्ने भने सोमबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालीग्रामलगायतका बजार क्षेत्रमा बसोबास गरी बिहानै स्नान गर्न पुगेका हुन् । 

 

माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तीलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन पनि रहेको छ । 

 

यसैबीच पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्ला र दुई प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्न स्वदेश तथा विदेशबाट भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् । 

 

कालीगण्डकी ए जलुविद्युत् निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयात्रामार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गरेको स्थानीयवासी अशोकसिंह पाण्डेले जानकारी दिनुभयो । उक्त स्थानमा माघे सङ्क्रान्तिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् । 
 

कालीगण्डकी

विशेष