विदेश स्वास्थ्य

भारतमा स्वाईन फ्लुका कारण ४० को मृत्यु

भारतमा स्वाईन फ्लुका कारण ४० को मृत्यु

जयपुर । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजारभन्दा बढी विरामी परेका छन् । 

 

यस्तै रोगका कारण गत बर्ष भारतभरी एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए । अहिले प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ दिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यका भएको अधिकारीहरुले जनाएका छन् । विरामीहरूलाई सेवा दिनका लागि ती राज्यहरुमा सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान चलाएको छ । 

 

त्यसैगरी स्वास्थ्यअधिकारीहरूले यस्ता रोगहरुका बारेमा जनचेतनामुलक कार्यक्रमहरू पनि चलाइएको बताएका छन् । उनीहरूलाई रोगको लक्षण, त्यसका लागि अप्नाउनु पर्ने सावधानीहरू र उपचारका उपायहरूका बारेमा जानकारी दिइएको स्वास्थ्यकर्मीहरूको भनाई छ । जनचेनतामुलक अभियानका क्रममा पाँच हजार १०० जनाको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो । 

 

'अहिले फैलिएको स्वाइन फ्लुका कारण यही जनवरी १ देखि १७ तारिख सम्ममा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने एक हजार ३६ जना विरामी भएको पाइएको छ, ती मध्ये एक जनाको बिहीबार मृत्यु भएको छ,' राजस्थान स्वास्थ्य विभागद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

 

स्वाइन फ्लुबाट विशिष्ट व्यक्तिहरु पनि विरामी भएका छन्, ती मध्ये प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य सल्लाहकार समेत रहनु भएका अमित शाह पनि हुनुुहन्छ । यही हप्ता विरामी पर्नु भएका शाहलाई अस्पताल भर्ना गरिएको थियो । राजस्थानको जोथपुर जिल्लामा सवै भन्दा धेरै जनाको मृत्यु भएको विवरण छ । त्यहाँ १६ जनाको मृत्यु भएको छ भने २२५ जना विरामी भएका छन् । सरकारी अधिकारीहरुले त्यस क्षेत्रमा भ्रमण नगर्न सल्लाह दिएका छन् । 

स्वाइन फ्लु

विशेष