News

निर्मला पन्त प्रकरणः डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका

निर्मला पन्त प्रकरणः डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका

काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रयोगशालाबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।

 

पूर्वएआईजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झा, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठक सम्मिलित टोलीले प्रतिवेदन तयार पारेको हो । विशेष स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनमा निर्मलाको भेजाइनल स्वाब (योनीभित्र हुने र्‍यालजस्तो तत्त्व) बाट लिइएको परीक्षणमा त्रुटि हुन सक्ने निष्कर्ष निकालेको हो ।

 

डीएनए नमुनाबाट अटोसोमल एसटीआर (महिला र पुरुष सबैमा पाइने क्रोमोजम) र वाई एसटीआर (पुरुषमा मात्र पाइने क्रोमोजम) दुवै निकाल्नुपर्नेमा प्रयोगशालाले वाई एसटीआर मात्रै निकालेको प्रतिवेदनमा उल्लेख छ । जबकि प्रहरीको विधि विज्ञान प्रयोगशालामा अटोसोमल एसटीआर निकाल्ने उपकरण छन् । अटोसोमल एसटीआरले व्यक्ति किटान गर्छ भने वाई एसटीआरले पुरुषहरूको समूह किटान गर्छ ।

 

प्रतिवेदनमा भनिएको छ, ‘एउटा मिश्रित नमुनामा विशेष प्रक्रियाद्वारा शुक्रकिट अलग्याई सोको डीएनए परीक्षण उपयुक्त हुन्छ । विश्वव्यापी रूपमा यो प्रक्रिया अपनाउने गरिन्छ । यसबाट अपराधीको आवश्यक डीएनए प्रोफाइल प्राप्त हुने भए निजको पहिचान सम्भव हुन्छ । यस केसमा उक्त प्रक्रिया नअपनाएका कारण महिला र पुरुषको डीएनए मिश्रण हुन गएको छ । फलस्वरूप पुरुषको वाई एसटीआर परीक्षण मात्र सम्भव भएको छ ।’

 

प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एवं डीएनए विज्ञ एसपी राकेश सिंहको नेतृत्वमा स्वाब परीक्षण भएको थियो । यो तथ्यले भेजाइनल स्वाबको परीक्षणका क्रममा प्रहरीको विधि विज्ञान प्रयोगशालामा त्रुटि भएको संकेत गर्दछ । प्रतिवेदनले हाल प्रयोगशालाबाट निकालिएको डीएनए नतिजाका आधारमा मात्रै वास्तविक अपराधी पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

डीएनए निर्मला पन्त प्रकरण

विशेष