News मेरो परिवार मेरो कथा

बम दिदीबहिनी न्याय खोज्दै काठमाडौंमा, भन्छन् ‘लाञ्छना सहेर कति बस्ने ?’

बम दिदीबहिनी न्याय खोज्दै काठमाडौंमा, भन्छन् ‘लाञ्छना सहेर कति बस्ने ?’

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरूमाथि अन्याय भएको बताएका छन् ।

आमासँग काठमाडौं आएका उनीहरूले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए ।

रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीलेआफ्नो घर खानतलासी गरेको र कैयन्पटक बयान लिएको बताइन् । उनले बाहिर चर्चामा आएजस्तो प्रहरीले आफ्नो पक्ष नलिएको दाबी गरिन् । ‘हामीसँग सोध्दै नसोधी चरित्र हत्या गर्ने र तथानाम लेख्ने–बोल्ने काम भयो,’ उनले भनिन् । पहिलोचोटि एक दिन र दोस्रोचोटि ६ दिन आफूलाई हिरासतमा राखिएको, दिदी बबितालाई पहिलोचोटि २ दिन र दोस्रोचोटि १८ दिन हिरासतमा राखिएको उनले बताइन् । भनिन्, ‘बारम्बारको अनुसन्धानले हामीलाई दोषी देखाएन । केही मानव अधिकारवादी संगठनले झूटा प्रतिवेदन बनाए ।’

नेपाल मानव अधिकार संगठनले २०७५ असोज ६ गते सार्वजनिक गरेको प्रतिवेदनतर्फ इंगित गर्दै उनले भनिन्, ‘हामीसँग भेटदै नभेटी उक्त संगठनले हामीलाई ओपेरा होटलको डान्सर बनाइदियो ।’

घटनालगत्तै संगठनले निकालेको प्रतिवेदनमा बबिता ओपेरा होटलमा डान्सर रहेको उल्लेख थियो । बलात्कार र हत्या घटनापछि आफूहरू सार्वजनिक जीवनमा फर्किन नसकेको दुखेसो उनीहरूले पोखे । सामाजिक सञ्जाल, युट्युब च्यानल र सर्वसाधारणबाट समेत आफ्नो चरित्रमाथि औंला उठाइँदा निरीह बन्नुपरेको उनीहरूले बताए ।

घटना सार्वजनिक भएपछि रोशनी स्कुल गएकी छैनन् । आमा इन्द्राले छोरीलाई अर्को विद्यालय सार्न खोज्दा विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएको बताइन् । बबिताको पनि हिरासतमै रहेका बेला बीबीएस दोस्रो वर्षको परीक्षा छुटेको उनले जानकारी दिइन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

निर्मला पन्त

विशेष