नेपालीले विदेश यात्रामै सके ३५ अर्ब
काठमाडौं । विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो । यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन् । नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ ।
नेपालीले विदेश भ्रमणमा जाँदा खर्च गरेको जहाजको टिकट रकमसमेत यसमा जोडिएको छ । ‘नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । यसबाट ठूलो रकम बाहिरिएको छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने ।
विदेशी विनिमय सञ्चिति घटेपछि विदेश जानेलाई प्रवेशाज्ञा र टिकटका आधारमा नगदमा दिइने विदेशी मुद्रा सुविधा २५ सय डलरबाट कटौती गरेर १५ सय अमेरिकी डलर बनाइएको छ । तर भुक्तानी फछ्र्यौट गर्नुपर्ने भएकाले सञ्चित विदेशी मुद्रा खर्च गर्नुपर्ने बाध्यता छँदैछ । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।
विदेश यात्रा