News

पशुपतिनाथको जग्गा : नाम मात्रको कुत, व्यवसायी कमाइरहेका छन् अकुत

पशुपतिनाथको जग्गा : नाम मात्रको कुत, व्यवसायी कमाइरहेका छन् अकुत

काठमाडौं । काठमाडौंको केन्द्रमा पाँच हजार रोपनी जग्गा व्यक्तिको नाममा हुन्थ्यो भने उसले कति कमाउँथ्यो होला ? त्यति नै जग्गाको धनी भएर पनि पशुपतिनाथलाई जात्रापर्व चलाउनसमेत हम्मेहम्मे पर्दै आएको छ।

 

पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गाजमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन। काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला, आसपासका काभ्रे, नुवाकोट, लमजुङका साथै तराईमा सयौं बिघा जमिन भए पनि कोषले वार्षिक करिब ६० लाख रूपैयाँमात्र कुतबापत बुझ्दै आएको छ।

 

कोषको राजधानी र आसपासको चार हजार ६ सय ७३ रोपनी जग्गाको मूल्य हिसाब गर्ने हो भने अर्बौंको सम्पत्ति हुन्छ र यसबाट निजीले झैं भाडा उठाउने हो भने पनि करोडौं हुन्छ। तर राज्यले समायानुकूल ऐनकानुन नबनाउँदा मोहीलगायतले वार्षिक ५६ लाख ३१ हजार दुई सय २३ रूपैयाँमा चित्त बुझाउन कोष बाध्य छ। जुन आम्दानीले पशुपतिको खर्चसमेत धान्न नसकेको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए।

 

यसै आम्दानीबाट परम्पराअनुसार कार्यालयबाट गर्नुपर्ने पशुपति मन्दिरसँग सम्बन्धित पुजारी र रैरकमीको पारि श्रमिक, पूजा खर्च र जात्रापर्वको खर्च पनि धान्न गाह्रो भइरहेको छ। रैरकमीको पारिश्रमिकमा समयसापेक्ष वृद्धि भएको र जात्रा पर्वसँग सम्बन्धित खर्चहरू पनि बढ्दै गएकाले यी खर्च धान्न कुत आम्दानी अपर्याप्त रहेको उप्रेतीले बताए।

 

‘हिन्दू धर्मावलम्बीको पवित्रस्थल पशुपतिनाथ मन्दिरसँग प्रशस्त जग्गाजमिन र अथाह सम्पत्ति हुँदाहुँदै पनि सदुपयोग हुन सकेको छैन’, उप्रेतीले भने, ‘पशुपतिको भएको जग्गा पनि व्यवस्थित र सबैबाट कूतसमेत उठ्ने अवस्था छैन, आउने कुतबालीबाट पशुपतिनाथका जात्रा, पर्व र पूजा गर्न सधैं अपुग हुन्छ।’

 

पशुपति क्षेत्र विकास कोषका अनुसार कोषका मातहतका तीन कार्यालयमा चार हजार ६ सय ७३ रोपनी जग्गा छ। पशुपतिनाथ अमालकोट कचहरी, पशुपतिनाथ भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिल कार्यालयसँग रहेको जग्गाजमिनको मात्र विवरण कोषसँग छ। कोषका अतिरिक्त गुठी संस्थानअन्तर्गत राजगुठी र निजी गुठीमा पनि पशुपतिनाथको जग्गा प्रशस्त छ।

 

विगतमा लालमोहर, सनद, सवाल, राजपत्र, भोजपत्र र ताडपत्र आदिमार्फत पशुपतिनाथका नाममा अर्पिएका सबै जग्गाको समेत कोषसँग अभिलेख छैन। स्रोतका अनुसार, राजगुठी र निजी गुठीका कतिपय जग्गा भूमाफियाले हडपिसकेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

पशुपतिनाथ

विशेष