News देश

कर छुटले जग्गा धनी महिलाको संख्यामा वृद्धि

कर छुटले जग्गा धनी महिलाको संख्यामा वृद्धि

बाजुरा । बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको संख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ । 

 

कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए । अहिले महिला तथा दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रवधान रहेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ । 

 

कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ५८ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ७६ रहेको जनाएको छ । 

 

कार्यालयमा जग्गा लिएवापत महिला र दलितले रु दुई लाख ३४ हजार १२ राजश्व छुट पाएको कार्यालय प्रमुख पाण्डेले बताए । त्यसैगरी आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या ३२ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ५१ पुगेको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यसवापत महिला र दलितले रु दुई लाख २० हजार १५३ राजश्व छुट पाएका छन् । 

 

नागरिकता र मतदाता शिविर शुरु 

 

जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाको दक्षिणी क्षेत्रमा सोमबारदेखि नागरिकता र मतदाता नामावली संकलन शिविर सञ्चालन गरेको छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका क्षेत्रमा कार्यालयले शिविर सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । 

 

प्रशासन कार्यालयको आयोजना र बूढीगङ्गा नगरपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । बूढीगङ्गा नगरपालिकामा नागरिकता शिविर सोमबारदेखि सञ्चालन भएको छ । नागरिकता लिनका लागि जिल्लामा आउन नसक्ने, आर्थिक अभाव भएका, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालाई लक्षित गरी शिविरको आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खगेन्द्रबहादुर मल्लले जानकारी दिए । 

 

उनका अनुसार सोमबारदेखि बूढीगङ्गा नगरपालिकाको बडीमालिका क्याम्पसमा प्रजिअ बरालको नेतृत्वमा शिविर सञ्चालन गरिएको हो । शिविरमा बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाका १६९ ले सेवा लिएको प्रजिअ बरालले बताए । 

 

जिल्लाको उत्तरी भेगको बूढीनन्दा नगरपालिकाको कोल्टी र खप्तड छेडेदह गाउँपालिकामा पनि नागरिकता र मतदाता नामावली सङ्कलन शिविर सञ्चालन गरिएको थियो । 

विशेष