विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पलाई टक्कर दिँदै भारतीय तामिल समुदायकी छोरी कमला

अमेरिकी राष्ट्रपति ट्रम्पलाई टक्कर दिँदै भारतीय तामिल समुदायकी छोरी कमला

अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन् ।

 

अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताएकी छन् । सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देशमार्फत् उनले उम्मेदवारी घोषणा गरेको समाचारमा जनाइएको छ ।

 

सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि हुनु भएकी उनले दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन् । त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो ।

 

अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उनले कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन् । उनी भारतीय तामिल समुदायकी छोरी हुन् । अमेरिकाको इतिहासमा उनी दोस्रो अश्वेत महिला सिनेटर हुन् । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन हुन् ।

 

अमेरिकामा झण्डै २२ महिनापछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

कमला ह्यारिस अमेरिकी राष्ट्रपतीय निर्वाचन

विशेष