जनकपुरका मठमन्दिरको जग्गा पुजारीकै संलग्नतामा बेचिँदै
जनकपुर । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठीजग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् ।
मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्ति समेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर र पोखरीको सहर मानिने जनकपुरमा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य छेकेका छन् । जनकपुरलाई कुरूप बनाएका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गुठीको जमिन थुप्रै अतिक्रमित स्वीकार्दै अनधिकृत अतिक्रमण गर्नेलाई तत्कालै खाली गर्न आह्वान गरेको बताए । जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुटी, मठमन्दिर, मस्जिद, पोखरीलगायतका सार्वजनिक जग्गा÷स्मारकको विवरण पठाउन मालपोत, नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरमा भएको तथ्यांकअनुसार साविकमा धनुषा जिल्लाका विभिन्न मठमन्दिरको साविकको जग्गा ५,८३५ बिघा १० कठ्ठा १९ धुर थियो । २०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभरि अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६,१२९ बिघा २ कठ्ठा १० धुर २ कनमा छ ।
गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ ।
जनकपुर