आज साँझसम्मै पानी पर्ने
काठमाडौं । उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म पानी पर्ने भएको छ। मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ।
यी स्थानहरूमा मंगलबार रातिदेखि नै पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले बताए। काठमाडौं उपत्यकामा ५ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। सुदूरपश्चिमबाट सक्रिय भएको पानी पर्ने प्रणाली बिहीबारदेखि पूर्वमा सक्रिय हुने भएको छ।
काठमाडौंसहित देशका मध्य र पश्चिम भेगमा परिरहेको वर्षा बुधबार साँझदेखि रोकिनेछ भने बिहीबार बिहानदेखि पूर्वी भेगमा पानी पर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए।
सुदूरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरूमा हिमपात पनि भइरहेको छ। वर्षा र हिमपातले जनजिवन कष्टकर भएको छ भने बिहीबार पूर्वका धेरैजसो स्थानमा पानी पर्नेछ भने यी स्थानहरूका उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनेछ।
उपत्यकाको बुधबारको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसम विज्ञान विभागले जनाएको छ।
मौसम