वाइडबडी अनियमतिता : छानबिनबारे सरकारद्वारा गठित आयोगका सदस्यलाई छैन जानकारी
काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेको सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।
संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदन अपूर्ण रहेको भन्दै पुस १९ गते सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो।
पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मासहितको तीन सदस्यीय आयोग गठन गरे पनि जिम्मेवारी भने दिइएको छैन।
‘आयोग गठन गरेको र उक्त आयोगमा म अध्यक्ष रहेको मैले पनि सञ्चारमाध्यमबाट सुनेको हुँ,’ पराजुलीले भने, ‘आयोग बन्नुअघि आयोगको अध्यक्ष बस्न पर्यो भनेर आग्रह गरे पनि त्यसपछि भने कुनै खबर आएको छैन।’ आयोगको काम के र कहिलेबाट सुरु गर्ने भन्ने पनि जानकारी नभएको उनले बताए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
वाइडबडी विमान खरिद प्रकरण