पूर्वराजा आइतबारदेखि जिल्ला भ्रमणमा जाने, शिव सेनाले तयारी थाल्न दियो निर्देशन
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित आउँदो आइतबारदेखि पुनः देशाटनमा निस्कने भएका छन् ।
पूर्वराजाको सम्वाद सचिवालयका अनुसार उनी आइतबार अर्थात माघ १३ गते दिउँसो ४ बजे काठमाडौंबाट बारा पुग्ने कार्यक्रम छ । उनी करिब १ हप्ता सिमरामा बस्ने र त्यसपछि पूर्वी जिल्लाहरुको भ्रमणमा निस्किने कार्यक्रम रहेको छ । झापामा यसपटक पनि एक हप्ता जति बस्ने कार्यक्रम रहेको बुझिएको छ । पूर्वराजा केही समयदेखि देशका विभिन्न भागको भ्रमण, नागरिकसँग भेटघाट र धार्मिक स्थलको भ्रमणमा निस्किरहेका छन् ।
पुस २ मा पनि पूर्वराजा शाहले पश्चिम नेपालको भ्रमण गरेका थिए । करिब १६ दिनको कार्यक्रम बनाएर पोखरा पुगेका पूर्वराजालाई जनस्तरबाट भव्य स्वागत गरिएको थियो । उनले पोखरामा रहेका धार्मिक मठमन्दिरको दर्शन गरेका थिए ।
पूर्वराजालाई पोखरा विमानस्थलमै जनताले २१ केजीको माला पहिर्याइदिएका थिए । पोखरामा पूर्वराजाको क्रेज उल्लेखनीय देखिएको थियो ।
शाहको कार्यक्रम तय भएलगत्तै हिन्दुत्व र राजसंस्था पक्षधर शिव सेना नेपालले पनि आफ्नो पार्टी पंक्तिलाई तयारी थाल्न निर्देशन दिएको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले भने, ‘प्रथमतः राजा भनेका सबैका साझा हुन्छन् । राष्ट्र भनेकै राजा र जनता हुन् । सरकारको भ्रमण तय भएपछि सधै झैं यसपटक पनि शिव सेना नेपालले सुरक्षा प्रबन्धमा ध्यान दिने छ । नागरिकहरुले राजासँग सम्वाद गर्न चाहेका हुन्छन् । त्यस्तो अवस्थामा नागरिकहरु र राजाबीच सम्वादका लागि सहयोगी भूमिका निर्वाह गर्नेछ ।’
अध्यक्ष बस्नेतका अनुसार पूर्वराजाको स्वागतका लागि पनि शिव सेना नेपाल सिमरामा उपस्थित हुनेछ ।
पछिल्लो समय पूर्वराजाप्रति जनस्तरमा आकर्षण बढेको पाइन्छ । पूर्वराजा शाहबारे नेकपाका नेता नारायणकाजी श्रेष्ठले समेत उनी अत्यन्त शिष्ट र भद्र व्यक्ति भएको उल्लेख गरेका थिए । पूर्वराजाहरुप्रति पूर्वाग्रह राख्ने पूर्वमाओवादी नेताहरुसमेत उनीप्रति नतमस्तक भएको समाचारहरु प्रकाशित हुन थालेका छन् ।