News

सुत्केरी भैंसीलाई ३ हजार भत्ता, पाडापाडीको जन्मदर्ता

सुत्केरी भैंसीलाई ३ हजार भत्ता, पाडापाडीको जन्मदर्ता

सल्यान । जिल्लाको बागचौर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी भैंसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालेको छ । नगर क्षेत्रका सुत्केरी भैंसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालिएको मेयर लोकमान बुढाथोकीले जानकारी दिए । १ पुसयता नौवटा सुत्केरी भैंसी तीन हजार रुपैयाँका दरले भत्ता पाएका छन् । भैंसीलाई भत्ता दिन नगरपालिकाले चालू आर्थिक वर्षमा साढे चार लाख रुपैयाँ विनियोजन गरेको छ ।


‘व्यावसायिक भैंसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न सुत्केरी भैंसीलाई भत्ता दिने व्यवस्था गरेका हौं,’ मेयर बुढाथोकीले भने, ‘यसले भैंसीपालक किसान उत्साहित हुने र दूध उत्पादन बढ्ने अपेक्षा गरेका छौं ।’ सुत्केरी भैंसीलाई भत्ता दिन मेयर बुढाथोकी गोठमै पुगेपछि किसान दंग परेका छन् । बागचौर–९ का भैंसीपालक किसान वेदप्रसाद डाँगीले भने, ‘मेयर सा’ब भत्ता लिएर गोठमै आउनुभयो । यसले हामीलाई भैंसी पाल्न प्रोत्साहन मिलेको छ ।’

 

पाडापाडीको जन्मदर्ता
नगरपालिकाले नयाँ जन्मिने पाडापाडीको जन्मदर्ताको तयारीसमेत गरेको छ । सुत्केरी भैंसीलाई भत्ता दिँदा नयाँ जन्मिएका पाडापाडीको जन्मदर्तासमेत गरिने डाँगीले जानकारी दिए । यसले भैँसीको तथ्यांक र व्यावसायिक पशुपालन, दुग्ध उत्पादन, पशु बिमालगायतका क्षेत्रमा काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैंसीको नस्ल सुधार गरेर दुग्ध उत्पादन बढाउन कृत्रिम गर्भाधानको व्यवस्थासमेत नगरपालिकाले गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सल्यान सुत्केरी भैंसी

विशेष