News

भारतमा इन्धनको मूल्य वर्षकै न्यून, नेपालमा पनि मूल्य घट्न सक्ने

भारतमा इन्धनको मूल्य वर्षकै न्यून, नेपालमा पनि मूल्य घट्न सक्ने

काठमाडौं । कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । जसकारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । आइओसीले सोमबार पेट्रोलमा २८ पैसा र डिजेलमा २३ पैसा मूल्य घटाएर  दिल्लीमा प्रतिलिटर पेट्रोल ६८.८४ भारु र डिजेल ६२.८६ भारु निर्धारण गरेको छ ।

 

यो सन् २०१८ को सबैभन्दा कम मूल्य हो । भारतमा मूल्य घटेसँगै अब नेपाल र भारतको इन्धन मूल्य पनि बराबरी भएको छ । यसअघि भारतीय बजारमा इन्धनको भाउ सस्तो हुँदा तराईका सीमावर्ती क्षेत्रमा रहेका पेट्रोलपम्पबाट इन्धन तस्करी हुने र भारतीय गाडी नेपालतर्फ आएर तेल भरेर जाने गरेका थिए । दुवै देशको मूल्य करिब समान भएपछि अब तस्करीको समस्या हट्नेछ ।


भारतमा २२.०४ रुपैयाँ घट्यो
कच्चा तेलको भाउमा गिरावट आएकाले भारतीय उपभोक्ताले पनि ठूलो राहत पाएका छन् । १८ अक्टोबर (१ कात्तिक) यता भारतमा पेट्रोलको मूल्य १३.७८ भारु अर्थात् २२.०४ रुपैयाँ घटेको छ । डिजेलको भाउ १२.०६ भारु अर्थात् १९.२९ रुपैयाँ घटेको छ । भारतको सत्ता साझेदार दल एनडिएद्वारा सासित १२ राज्यमा ४ अक्टोबर (१८ असोज) मा पेट्रोल र डिजेलमा प्रतिलिटर २.५ भारु कर कटौती गरिएको थियो ।

 

त्यतिखेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर भारतमा समेत इन्धनको मूल्य अकासिएको थियो । ४ अक्टोबर (१८ असोज) मा पेट्रोलको मूल्य सबैभन्दा बढी ८४ र डिजेलको मूल्य ७५.४५ भारु प्रतिलिटर थियो । तर, सरकारले कर कटौती गरेपछि तत्काल प्रतिलिटर मूल्य ५ भारु घटाइएको थियो ।

 

सरकारले अनुदान दिन थालेलगत्तै १८ अक्टोबर (१ कात्तिक) देखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटिरहेको छ । कच्चा तेलको भाउ घट्न थालेपछि तेल कम्पनीहरूले पनि भारतमा मूल्य घटाइरहेका हुन् ।

 

 नेपालमा मूल्य घट्न सक्ने
आइओसीले अंग्रेजी महिनाको प्रत्येक १ र १५ तारिखमा निगमलाई नयाँ खरिद मूल्य पठाउने गर्छ । आइओसीले मंगलबार ९१ जनवरी० साँझसम्म नयाँ मूल्य पठाएको थिएन । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नयाँ वर्षमा आइओसीको कार्यालय बन्द भएको हुन सक्ने भएकाले मूल्यसूची पाउन नसकेको बताए ।

 

बुधबार नयाँ मूल्यसूची आएपछि बिहीबारबाट लागू हुने गरी मूल्य समायोजन गर्ने निगमको तयारी छ । तर, यसपटक पनि प्रतिलिटर २ देखि ३ रुपैयाँ मात्र मूल्य घटाउने निगमको आन्तरिक तयारी छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

इन्धन

विशेष