चर्पी नबनाएको भन्दै स्थानीयलाई समातेर चौकीमा
सर्लाही । जिल्लाको हरिपुर नगरपालिका–८ को मुसहर बस्तीमा मेरो घर छ । सानो झुपडीमा १७ जनाको परिवार छ । केटाकेटी र बुढाबुढी धेरै छन् । तन्नेरीहरू काम गर्न निस्किन्छौँ । कोही इँटाभट्टामा काम गर्छौँ, म बोरा उठाउने भरिया हुँ ।अस्ति एक दिन बिहान झिसमिसे हुँदै थियो । म शौच गर्न निस्किएको थिएँ । झाडीभन्दा अलिपर सेतो गाडी थियो । कसैले रोकिराखेको होला भन्ने लाग्यो । म शौच बस्नासाथ गाडीबाट एक हुल मान्छे निस्किए । हाम्रै वडाका अध्यक्ष र सामाजिक कार्यकर्ता पनि रहेछन् । टोलीमा सबैभन्दा अगाडि प्रहरी थिए । मलाई उनीहरूले झ्याप्पै समाते । वरपर शौच बसेका अरू तीनजना (कृष्ण महरा, शंकर महरा र धनीराम महरा) लाई पनि समातिहालेछन् ।
उज्यालो भएपछि हामी चारैजनालाई गाउँ घुमाइयो । सार्वजनिक ठाउँमा शौच गर्ने यिनीहरू हुन्, चिनिराखौँ भनेर बेइज्जत गरे । खुला ठाउँमा शौच गरेमा यसैगरी गाउँ घुमाउँछौँ भनेर सबैलाई धम्क्याए । गाउँ घुमाएपछि हामीलाई चौकीमा लगियो । चौकी फोहोर थियो, पछाडिपट्टि रक्सीका बोतल फालिएका थिए । हामीलाई ती समेट्न लगाइयो, बेल्चा र कोदालो दिएर लौ खाल्डो खन भने । हामीले खन्यौँ । बोतल र सबै फोहोर त्यसैमा हाल्यौँ । चौकी सफा भयो । अनि हामीलाई आइन्दा फोहोर गर्नेछैनौँ भनेर कायलनामा गराएर छोडे । चौकीबाट त छुट्यौँ । तर, चर्पी बनाउन सकेका छैनौँ । न जग्गा छ, न पैसा छ । डर लागिरहेको छ फेरि कुन दिन गस्ती आउने हो ।
इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रमेश पाल भन्छन्–
नगरपालिका र एनजिओले पत्र लेखेपछि पुलिस पठाएका हौँ । उनीहरूलाई समातेर गाउँ घुमाइएको हो, तर चौकीमा थुनेको होइन, लाज हुने भइहाल्यो, चौकीमा थुन्नुपर्दैन भनेर छोडिएको हो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।