एक वर्षभित्र कोसी र नारायणी नदीमा पानीजहाज

काठमाडौं । नेपालका नदीमा पानीजहाज सञ्चालन भएको देख्ने नेपाली जनताको वर्षौंदेखिको सपना अब पूरा हुने भएको छ । सरकारले कोसी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएपछि नेपाली जनताको त्यो सपना पूरा हुने भएको हो ।
पानीजहाज सञ्चालनका लागि सरकारले यससम्बन्धी कार्यालय स्थापना गर्ने निर्णय एक साताअघि नै गरिसकेको छ । सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ । पानीजहाज कार्यालय स्थापनासँगै जहाज सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जल तथा ऊर्जा आयोगले जनाएको छ । आयोगका सहसचिव माधव बेलबासेले भने, ‘कार्यालय स्थापनासँगै यससम्बन्धी आवश्यक प्रक्रिया अघि बढ्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानीजहाज ल्याउने तथा रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो । सोही सम्झौताअनुसार नेपालले पानीजहाज सञ्चालन गर्न लागेको हो । प्रम ओलीले नेपालको झन्डासहित पानी जहाज सञ्चालन गर्ने उद्घोष गरेसँगै पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढेको हो । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
नारायणी नदी पानीजहाज कोसी नदी