News राजनीति

बलजफ्ती चिकित्सा शिक्षा विधेयक पारित, राजनीतिक मुठभेड निम्त्याउन लागेको प्रतिपक्षको ठहर

बलजफ्ती चिकित्सा शिक्षा विधेयक पारित, राजनीतिक मुठभेड निम्त्याउन लागेको प्रतिपक्षको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

 

दिउँसो १ बजे बोलाएको संसद् बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो २ बजे सुरु भएको थियो। बैठकको कार्यसूचीमा राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गर्ने विषय भएकाले सभामुख कृष्णबहादुर महराले बैठक बस्नुअघि कांग्रेस र सत्तापक्षका संसदीय दलका उपनेता र प्रमुख सचेतकसँग छलफल गरी सहमति प्रयास गरेका थिए। सहमति जुट्न नसकेपछि सभामुख महराले प्रतिपक्षले विरोध जनाए संसद् बैठकअघि नबढाउने आश्वासन दिएको कांग्रेस सांसद गगनकुमार थापाले बैठकपछि बताए। ‘भित्र एउटा भनियो,’ थापाले भने, ‘बैठक अर्को तरिकाले जालझेलपूर्ण ढंगबाट सञ्चालन गरी विधेयक पारित गर्ने काम भयो, जुन आपत्तिजनक छ। सत्तापक्षले राजनीतिक मुठभेड निम्त्याउने गरेको छ।’

 

बैठकको सुरुमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा स्थापना भएका दुई स्वास्थ्य केन्द्रलाई संघीय सरकारअन्तर्गत राख्ने निर्णय नभएसम्म संसद्को कारबाही अघि बढ्न नसक्ने बताएपछि कांग्रेसका सबै सदस्य रोस्ट्रमअघि पुगेका थिए। त्यहीं उनीहरुलाई मर्यादापालकले घेराबन्दी गरेका थिए। मर्यादापालकलाई घेराबन्दी गर्न लगाएको भन्दै कांग्रेस नेताहरुले त्यसलाई हटाउन सभामुखसँग माग गरेका थिए, जसलाई महराले सुनेको नसुन्यै गरेका थिए। यो खबर आजको नागरिकबाट लिइएको हो ।

संसद बैठक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

विशेष