News

मोटरसाइकल ट्याक्सीलाई पनि समेट्ने गरी नयाँ सवारी ऐन बन्ने

मोटरसाइकल ट्याक्सीलाई पनि समेट्ने गरी नयाँ सवारी ऐन बन्ने

काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन नयाँ बन्ने भएको छ। संघीय प्रणालीअनुसार सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई सुधार गरेर नयाँ बनाउन लागेको हो।

 

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले ऐनलाई समयसाक्षेप र प्रविधिमैत्री हुनेगरी परिवर्तन गर्न लागिएको जानकारी दिए। तीन महिनादेखि विभाग ऐनको खाका निर्माणमा जुटेको छ। ‘यातायात विज्ञबाट यसमा काम भइरहेको छ’, उपाध्यायले भने, ‘फागुनभित्रमा खाका तयार हुन्छ।’ ऐनको खाकालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषद्को अनुमोदन र संसद्बाट पारित गरेपछि लागू हुनेछ।

 

मुलुकमा नयाँ संविधान निर्माण भए पनि यातायात क्षेत्र भने २६ वर्ष पुरानो ऐनकै आधारमा सञ्चालन भइरहेको छ। विज्ञान तथा प्रविधिको विकासका क्रममा यातायात क्षेत्रमा देखिएको सुधार उन्मुख कार्य गर्न ऐनले बाधा पुर्‍याउँदै आएको छ। पछिल्लो उदाहरणको रुपमा मोटरसाइकल ट्याक्सी अर्थात टुटल र पठाओलाई लिन सकिन्छ।

 

नेपालको सहरी क्षेत्र काठमाडौं उपत्यका, पोखरा, धरानलगायत क्षेत्रमा मोटरसाइकल ट्याक्सीको प्रयोग भइरहेको छ। तर ऐनमा निजी प्रयोजनका लागि दर्ता भएको सवारीसाधनले यात्रु बोक्न नपाउने व्यवस्था छ। यस्तो माध्यमबाट व्यवसाय गर्न कानुनी अड्चन छ। यात्रु बोक्ने मोटरसाइकल थुप्रै देशमा प्रचलनमा छ। कुनै देशमा कानुनी रूपमा भने कही कतै गैरकानुनी रूपमा सञ्चालनमा छ। यात्रु र सवारी चालकको सहमतिमा सेवा प्रवाह भइरहेको छ।

 

अब बन्ने नयाँ ऐनले मोटरसाइकल ट्याक्सी सञ्चालन गर्ने विषय पनि समेट्ने उपाध्यायको दाबी छ। ‘सेवाग्राहीलाई सहज हुने कानुनी निर्माण गर्ने हो। मोटरसाइकल ट्याक्सीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर विभाग छलफलमा छ’, उनले भने, ‘यस्ता मोटरसाइकल सञ्चालनसम्बन्धी निश्चित मापदण्ड बनाएर कानुनमा समेट्नेछौं।’ नयाँ ऐनमा यस्तै व्यवस्था हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था नभएको उनले बताए। तर पनि ड्रेस कोड, सवारी क्षमता र समय सीमा तोकेर सञ्चालन गर्न दिन सकिने उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन

विशेष