News समाज

टेन्डर प्रक्रियामा झमेला भएपछि रानी पोखरी पुनर्निर्माणको नयाँ मोडेल खोज्दै महानगर

टेन्डर प्रक्रियामा झमेला भएपछि रानी पोखरी पुनर्निर्माणको नयाँ मोडेल खोज्दै महानगर

काठमाडौं । रानीपोखरी पुनर्निर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले नयाँ मोडलमा पुनर्निर्माण गर्ने योजना अघि बढाएको छ। पुनर्निर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण कामपाले नयाँ मोडालिटीमा जाने निर्णय गरेको हो। करिब १४ करोड रुपियाँमा टेन्डर आ≈वान गर्दा ठेकेदार कम्पनीले करिब १७ करोड रुपियाँमा टेन्डर हालेपछि कामपा अप्ठ्यारोमा परेको थियो।

 

नयाँ मोडलअनुसार पुनर्निर्माण गर्न कामपाले विज्ञसँग परामर्श शुरू गरेको छ। कामपा सूचना अधिकारी एवं कानुन विभाग प्रमुख वसन्त आचार्यले नयाँ मोडलबाट पुनर्निर्माण गर्ने प्रक्रियाबारे छलफल शुरू भएको जानकारी दिए । कामपाले उपभोक्तालाई जिम्मा दिनेगरी उपभोक्ता मोडल, खरिद ऐनअनुसार बोलपत्र आह्वान गर्ने, स्थानीयको सहभागितामा अमानतमा काम लगाउने मोडल, परियोजनामार्फत वा गैरसरकारी संस्थाको सहभागितामा निर्माण गर्ने भन्नेबारे छलफल अगाडि बढाएको छ।

 

‘हामीले चाँडै टुङ्गोमा पुग्नेगरी काम शुरू गरेका छौं’, कामपाका प्रवक्ता एवं वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले भने– ‘देशकै धरोहरका रूपमा रहेको रानीपोखरीको पुनर्निर्माण अब विवादरहित रूपमा गर्नेछौं।’ उनले सबै किसिमका मोडलको बारेमा छलफल भइसकेको र केही दिनमै कुन मोडलमा पुनर्निर्माण गर्ने भन्ने विषयमा टुङ्गोमा पुगिने जानकारी दिए।

 

२०७२ साल वैशाख १२मा गएको शक्तिशाली भूकम्पबाट ध्वस्त भएका काठमाडौंको अधिकांश सम्पदा पुनर्निर्माण शुरू भइसक्दा पनि रानीपोखरीको पुनर्निर्माण भने विवादमा पर्दै आएको छ। कामपाको स्वामित्वमा रहेको रानीपोखरीको विसं २०७३ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ‘रानीपोखरी पुनर्निर्माण अभियान’को उद्घाटन गरेकी थिइन्। २०७३ वैशाख १० गतेदेखि रानीपोखरीको पानी सुकाएर कंक्रिटको वाल लगाउँदा स्थानीयस्तरबाट व्यापक विरोध भएपछि पुनर्निर्माणको काम रोकिएको थियो। यो खबर आजको समाचारपत्र दैनिकबाट लिइएको हो ।

रानीपोखरी काठमाडौँ महानगरपालिका

विशेष