News स्वास्थ्य

अङ्गदान गरौँ, अरुलाई जोगाऔँ

अङ्गदान गरौँ, अरुलाई जोगाऔँ

काठमाडौँ । मरणोपरान्त अङ्गदानको लागि नेपाल औषधि व्यावसायिक सङ्घले सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । औषधिको बजारीकरण गर्ने प्रतिनिधिमार्फत अङ्गदानका बारेमा आम मानिसमा जनचेतना जगाउन सङ्घले सो अभियान सञ्चालन गर्न लागेको हो । हाल स्वदेशी तथा विदेशी औषधि उद्योगबाट उत्पादित औषधिको चिकित्सक तथा स्वास्थ्यकर्मीसमक्ष पुगी बजारीकरण गर्ने मेडिकल रिप्रिजेन्टेटिभ (एमआर) को सङ्ख्या सात हजार भन्दा बढी रहेको छ । 

 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र सङ्घकाबीचमा मरणोपरान्त अङ्गदानका लागि जनचेतना जगाउन सहकार्य समेत भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र सङ्घका अध्यक्ष दीपक दाहालका बीचमा हालै द्विपक्षीय सहमति भएको थियो । 

 

मस्तिष्क मृत्युभएपछि मुटु, फोक्सो, सानोआन्द्रा, कलेजो, अग्नाशय, मिर्गौला, आँखा लगायतका अङ्ग निश्चित समयभित्र उपयोगमा ल्याउन सकिन्छ । चिकित्सकका अनुसार मुटु छ घण्टा, फोक्सो आठघण्टा, सानोआन्द्रा दश घण्टा, कलेजो १५ घण्टा, अग्नाशय २४ घण्टा र मिर्गौला २४ घण्टा मस्तिष्क मृत्युभएपछि पनि प्रत्यारोपण गर्न सकिन्छ । 

 

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठका अनुसार मस्तिष्क मृत्युपछिको अङ्गदानका लागि कुनै व्यक्तिको मृत्यु अस्पतालको सघन उपचार कक्षमा हुनुपर्छ । घरमा मृत्यु भएकाको निर्धारित समयभित्र मात्र आँखा दान सम्भव हुन्छ । अङ्गदान सम्बन्धी ऐन तथा नियमावली कार्यान्वयनमा आइसकेको छ । 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका सडक दुर्घटनाबाट मात्र वर्षेनी एक हजार तीन ३०० को अकालमा मृत्यु भइराखेको छ । अर्कोतर्फ मिर्गौला प्रत्यारोपणका लागि मात्र तीन हजार भन्दा बढी बिरामी अस्पतालमा पालो कुरेर बसिरहेका छन् । 

 

शल्यक्रिया कक्षमा मस्तिष्क मृत्यु भएको अङ्गदाताको शरीरबाट उसले दान दिने घोषणा गरेको अङ्गलाई निकालिने र चिरफार गरेको ठाउँमा टाँका लगाइ शवलाई कुनै विकृत नबनाइने गरिन्छ । वीरअस्पताल, त्रिविवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा मिर्गौला प्रत्यारोपण हुनेगर्दछ । ती अस्पतालले कलेजो प्रत्यारोपणको समेत आन्तरिक तयारी शुरु गरेका छन् । 

 

अध्यक्ष दाहालले चितवनस्थित नारायणगढमा आगामी फागुन १७ देखि १९ गतेसम्म आयोजना हुने सातौं संस्करणको ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ मा विशेष रुपमा मरणोपरान्त अङ्गदानको लागि चेतनामूलक जानकारी दिइने कार्यक्रम रहेको बताए ।  

अङ्गदान

विशेष