माइतीघरको झील्कोले सिंहदरवार र बालुवाटार जलाउन सक्छ
प्रचण्डको बिज्ञप्तीले पनि नेकपाभित्र रडाको
काठमाडौंको माइतीघर प्रदर्शनस्थलका रुपमा चिनिएको छ । यो अचम्मको यस्तो ठाउँ हो जहाँ दुई चार जना मान्छेले ब्यानर बोकेर उभिए मात्रै पनि देशभर सनसनी मच्चिन्छ । अझ सिंहदरवार र बालुवाटारको ध्यान सबैभन्दा पहिले तानिन्छ । माइतीघरलाई प्रदर्शनका लागि निषेधित क्षेत्र बनाउने योजना तुहिएपछि बर्तमान सरकारको मनोबल करिब दश महिना अघि नै खस्किसकेको थियो । अब यस्तो लाग्दैछ, यही माइतीघरमा बलेको बिरोधको झिल्कोले शासन सत्तालाई नै जलाउने छ । सिंहदरवार र बालुवाटारको रवाफ खरानी बनाउने छ ।
यसअघि तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुली हुन वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की, सबै बिरुद्धको आवाज माइतीघरबाटै बुलन्द भएको थियो । माइतीघरबाट संघीय संसद् भवन नयाँ बानेश्वरसम्मको र्याली र नाराबाजीको जगमा उनीहरुको पद मात्र खुस्केन जीवनभर कमाएको शान, सौकत, मान र नैतिकतासमेत धराशायी भयो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको आगो यहींबाट सल्किएको छ । अझ प्रतिनिधिसभा बैठकबाट चिकित्सा शिक्षा बिधेयक पारित भएपछि बिपक्षी नेपाली कांग्रेसले पनि यही स्थलबाट बिरोधको बिगुल फुकेको छ । आइतबार नेपाल बिद्यार्थी संघ (नेबिसंघ), तरुण दल र महिला संघले दिनभर माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारबिरुद्ध प्रदर्शन गरे । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न खोजेर कांग्रेसको अस्तित्वमाथि नै धावा बोलेको भन्दै कांग्रेसले सरकारमाथि अर्को चार्ज थपेको छ । कांग्रेसको आक्रोश बढ्नुको पछाडी यी दुई मुख्य बिषय हुन । कांग्रेसका नेताहरुका नाममा स्थापित अस्पतालको नाम समेत सुन्न नसक्ने तर माफियालाई पूर्ण सहयोग गर्दै चिकित्सा शिक्षा बिधेयक पारित गरी बी एण्ड सी तथा मनमोहन अस्पताललाई स्वीकृति दिने प्रपञ्च रचेको भन्दै कांग्रेस बढी चिढिएको हो । कांग्रेसलाई अनशनरत डा. गोविन्द केसीसंग भएका सहमतिको पालना भन्दा पनि आफना नेताका नाममा रहेका अस्पतालको खारेजी र ब्यापारीलाई पक्षपोषण गरेकोमा बढी रिस उठेको छ ।
कांग्रेसले सरकारको कदमलाई निकै गम्भीरतापूर्वक लिएको सभापति शेरबहादुर देउवासहित सो पार्टीका नेताहरुको भनाइबाट स्पष्ट भैसकेको छ । यो बिषयमा आइतबारबाट सुरु केन्द्रीय समिति बैठकमा पनि गम्भीर छलफल भएको छ । कांग्रेसले आफना भ्रातृ संगठनहरुलाई आक्रामकरुपमा प्रस्तुत हुन निर्देशन जारी गरेसंगै सडकमा त्यसको रुपरंग देखिसकेको छ ।
कांग्रेस मात्र होइन विवेकशील साझा पार्टी, नेपाल चिकित्सक संघ, संघीय समाजवादी फोरम ( जो आफै सरकारमा छ ), राजपा लगायतका दलहरु पनि सरकारसंग असन्तुष्ट छन । बिधेयक पारित भएकोमा फोरम अध्यक्ष एवम सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि सन्तुष्ट छैनन । उनले प्रधानमन्त्री ओलीलाई असन्तुष्टि पत्र बुझाई कुनैपनि बेला समर्थन फिर्ता लिएर माइतीघरमा नारा लगाउने प्रष्टरुपमा बताइसकेका छन । यसले कांग्रेसले बालेको आगोमा पक्कै पनि घीउ थप्ने छ । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) पनि सरकारबिरुद्ध संघर्षमा उत्रिने अन्तिम तयारीमा छ । उसले समर्थन फिर्ता लिने घोषणा गर्न मात्र बाँकी छ । अझ विवेकशीला साझा, चिकित्सक संघ, नागरिक समाज एवम डा. गोविन्द केसीका समर्थकहरु पनि सरकारबिरुद्ध देखिएपछि सरकारको गोडा लुला भएको प्रष्ट देखिन्छ ।
स्थानीय र प्रदेशस्तरबाटै पार्टी एकीकरण प्रक्रियासमेत टुंग्याउन नसकेर थलिएकाबेला पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकालेको बिज्ञप्तीले सो पार्टी भित्र पनि माइतीघरको आगोको लप्का पुगिसकेको प्रतीत हुन्छ । प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै बिज्ञप्ती निकालेपछि प्रधानमन्त्री ओली असन्तुष्ट छन । यसले सो पार्टी भित्र अन्तर्राष्ट्रिय चलखेल कस्तो छ भन्ने प्रष्ट पारेको छ । प्रधानमन्त्री ओलीका प्रिय पात्र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकाले ह्वाइट हाउसमा रेड कार्पेट बिछ्याएको डेढ महिना नपुग्दै प्रचण्डले अमेरिकाको बिरोध गर्नु भनेको सिधासिधा चीनलाई रिझाउन खोजेको सरासर बुझन सकिन्छ । ओली अमेरिका निकट भएकाबेला प्रचण्डले चीनलाई रिझाउन खोज्नु दुई अध्यक्षकाबीच आगोको ठूलै ज्वालाले दूरी सृजना गरेको अर्थ लगाउन सकिन्छ । यसले माइतीघरबाट प्रारम्भ भएको आगोको झिल्कोलाई निभाउने होइन अझ जाज्वल्यमान गराउने स्पष्ट छ ।
सत्ताको बागडोर सम्हालेको पार्टी नेकपा भित्र आन्तरिक र बाह्य प्रहार निकै ठूलो छ । अझ आफना भन्नेहरुले नै प्रधानमन्त्री ओलीबिरुद्ध षडयन्त्र गरिरहेको उनले भेउसमेत पाउन सकेका छैनन । हिजो ओली निकट भनेर चिनिएका नेताहरुको कहिले झम्सिखेल, कहिले खुमलटार, कहिले भैंसेपाटी त कहिले डल्लुमा गोप्य बैठक चल्नु षडयन्त्र नभएर के हो ?
अझ जनताको पक्षमा काम गर्ने भनेर समृद्ध नेपाल सुखी नेपालीको नारा लिएको सरकारले अहिलेसम्म जनहीतमा कुनैपनि उदाहरणीय काम गर्न सकेको छैन । अधिकांश सरकारका मन्त्री विवादमा परेका छन । प्रधानमन्त्रीले सुशासनका पक्षमा भाषण त राम्रो गर्छन तर भ्रष्टाचारमा मुछिएका मन्त्री र पार्टीका नेताहरुलाई कारवाही गर्ने हिम्मत देखाउन सक्दैनन, आखिर किन ? यसले पनि बिपक्षीले बालेको आगोमा घीउ थप्ने काम गरेको छ ।
महङ्गी, भ्रष्टाचार, असुरक्षा, बलात्कार, हिंसा लगायतका बिषय सरकारले सम्बोधन गर्न चाहेको देखिदैन । आफनै घोषणापत्र लागु गर्न नसकी दिनप्रतिदिन बिरोधी मात्र बटुलिरहेको सरकारलाई अर्को चुनौती थपिएको छ–सडक र सदनको बिरोध ।
कांग्रेस सांसद् गगन थापाले भनिसकेका छन,–‘ जसले कांग्रेससंग निहुँ खोज्छ, त्यो समाप्त हुन्छ । ’
कांग्रेसले आफना नेताहरुका नाममा स्थापित अस्पतालको खारेजी र चिकित्सा शिक्षा बिधेयकलाई प्रतिष्ठाको बिषय बनाएको छ । यसमा माथि उल्लेख गरेजस्तै बिभिन्न दल र नागरिकसमाजको पनि समर्थन देखिन्छ । दुई तिहाइ भएर पनि यदि माइतीघरको झिल्कोले सिंहदरवार र बालुवाटार जलायो भने त्यो अनौठो हुनेछैन ।