प्रधानमन्त्रीलाई २० घण्टा पनि नकुरी हतारमा चिकित्सा शिक्षा विधेयक किन पारित ?
काठमाडौं । प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपा भित्र देखियो।
प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट बहुमतले शुक्रबार पारित भयो। संसदीय प्रणालीमा वलजफ्ती पारित विधेयकको अर्को नजिरमा यो विधेयक पनि पर्यो। विधेयक पारित गर्दा प्रतिपक्षीले रोस्टम घेराउ, नारावाजी र होहल्ला जारी राखे। सडकमा पनि विधेयकप्रति असहमति प्रकट भइरहेकै थियो। विधयेक आफूसँग भएको सहमतिविपरीतका प्रावधान समेटेर ल्याइएको भन्दै डा. गोविन्द केसी अनशनमा छन्। प्रधानमन्त्री केपी ओली देश बाहिर थिए। प्रधानमन्त्री शनिबार बिहान स्वदेश फर्कंदै थिए।
'प्रधानमन्त्रीलाई २० घण्टा पनि नकुरी हतारमा सत्तापक्षले विधेयक किन पारित गर्यो ?' नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री खगराज अधिकारीले भने, ‘प्रधानमन्त्री देशभित्र–बाहिर जहाँ भए पनि यो विधेयकमा गर्ने के हो र ? उहाँ भए पनि, नभए पनि संसद्को प्रक्रियाअन्तर्गत पारित हुने विषय हो विधेयक, त्यही अनुसार पारित भयो।’
सत्तापक्षका सांसदहरूले प्रक्रियागत रूपमा विधेयक पारित भएको बताए पनि प्रधानमन्त्री आफू विदेश जाने बेला नै विधेयक पारित गर्न निर्देशन दिएकाले सत्तापक्षले हतारो देखाएको कांग्रेस नेता मीनेन्द्र रिजाल जिकिर गर्छन्। ‘प्रधानमन्त्रीले विदेश जानु अघि विधेयक आफू नआउँदै पारित गर्न भनेर ‘भगवान’ ले जसरी निर्देशन दिनुभएको थियो, त्यही आदेशलाई सत्तापक्षका नेताले शिरोधार्य गरे’, कांग्रेस नेता रिजालले भने।
६ माघमा विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीजरल्याण्डको डावोस जानुअघि विमानस्थलमा प्रधानमन्त्रीले सभामुख कृष्णबहादुर महरासँग चिकित्सा विधेयक कहिले पारित हुन्छ भनी जिज्ञासा राखेका थिए। सभामुखले ‘अबको बैठकबाट’ पारित हुने जवाफ दिएका थिए। महरामा पनि विधेयक पारित गर्ने त्यही हतारोमा थिए। यो अवस्था उनको विधेयक पारित गर्दा लरवरिएको बोलीले पनि प्रस्ष्टै देखाउँथ्यो। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।
चिकित्सा शिक्षा विधेयक केपी शर्मा ओली