News देश

मूल्य नपाएपछि तरकारी खेतीमै डोजर

मूल्य नपाएपछि तरकारी खेतीमै डोजर

भरतपुर । आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएका छन् ।

 

बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नुपरेको उनको भनाइ छ । लगानी र मिहिनेत नै नउठ्ने भएपछि १६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलाखेती नष्ट गरेको महतोले बताए । ‘आफूखुसी पैसा दिएर तरकारी लैजानूभन्दा पनि व्यापारीले तरकारी उठाएनन्, त्यसैले बाध्य भएर डोजर लगाउनुपर्‍यो,’ उनले भने ।

 

तरकारीले किन बजार पाएन ?

पछिल्लो समय भारतबाट अत्यधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजारमूल्य पाउन सकेको छैन । अहिले बन्दा र मुला उत्पादन हुने सिजन हो । किसानले आफ्ना घरका करेसाबारीमा खेती गरेकाले पनि बन्दा र मुलाले बजार नपाएको किसानहरूको भनाइ छ । घरघरमै उत्पादन हुने भएकाले पनि अहिले बन्दा र मुला बजारमा कम बिक्री हुने गरेको छ । ‘हामीले उत्पादन गरेको तरकारी लिनै मान्दैनन्,’ महतोले भने, ‘तरकारीको आयात बढ्दै गएका कारण हाम्रो उत्पादनले बजार पाएको छैन ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

तरकारी खेती

विशेष