बलवान महरा ! सभामुख महरालाई औंला ठड्याउने कांग्रेस अहिले थुरथुर
खाँण आफना सांसद्हरुले जय नेपाल भन्दा अनुहारै नहेरी घोसेमुन्टो लगाएर जय नेपाल फर्काउँछन
प्रतिनिधिसभा बैठकमा कांग्रेसले लगातार सभामुख कृष्णबहादुर महराको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । केही दृष्टान्त यसप्रकार छन :
क ) संसद्मा सांसद् गगन थापाले बोल्दै गर्दा निर्धारित समय सकिनु अगावै माइक काटियो । कांग्रेसले सभामुख महराको भूमिकामाथि प्रश्न उठायो ।
ख ) संसद्मा प्रधानमन्त्रीलाई प्रश्न सोध्न माग गर्दा सभामुख महराले प्रश्न सोध्न नदिएपछि फेरि एकपटक महराको भूमिकामाथि कांग्रेसले प्रश्न उठायो ।
ग ) संसद्मा चिकित्सा शिक्षा बिधेयक पारित गर्नेक्रममा बिपक्षी दलमाथि असहिष्णु र जालझेलपूर्ण व्यवहार गरेको भन्दै सभामुख महराको भूमिकामाथि फेरि कांग्रेसले प्रश्न उठायो ।
यी तीनवटा दृष्टान्तलाई मात्र हेर्दा कांग्रेस सभामुख महरासंग पूर्णतः असन्तुष्ट छ । सभामुख तटस्थ बन्न नसकेको, पदीय मर्यादा कायम राख्न नसकेको, पार्टीको कार्यकर्ता भन्दामाथि उठन नसकेको लगायतका आरोप उनीमाथि लगाइएको छ । यो आरोप लगाउनेमा सबैभन्दा अग्रपङ्तीमा गगन थापा, डा. मिनेन्द्र रिजाल, डा.अमेरशकुमार सिंह र दिलेन्द्र बडु रहेका छन् । यी चारैजना सांसद्ले संसद्मा औंला ठड्याउँदै सभामुखप्रति आक्रोश पोख्दै आएका छन । कांग्रेसका अन्य सांसद् भने आज्ञाकारी बालक झैं यी चार जना जताजता जान्छन, जे जे गर्छन त्यही अनुसार चल्छन ।
यतिसम्मकी प्रमुख सचेतक बालकृष्ण खाँण स्वयं आफनो भूमिकाप्रति अनभिज्ञ जस्ता देखिन्छन् । उनले न्यायपूर्णरुपमा भूमिका निर्वाह गर्न नसकेको स्वयं कांग्रेसकै सांसदहरुको गुनासो छ । एक सांसद्का अनुसार खाँण आफना सांसद्हरुले जय नेपाल भन्दापनि अल्छी पाराले अनुहारै नहेरी घोसेमुन्टो लगाएर जय नेपाल फर्काउँछन रे । यसले कांग्रेस संसदीय दलमै सांसद् र प्रमुख सचेतकबीच कतिको अन्तक्रिया र सरसल्लाह हुन्छ भन्ने देखाउँछ ।
खाँणकै यस्तो शैलीले सरकारको नीति तथा कार्यक्रम कांग्रेसकै समर्थनमा पारित भएको थियो । वास्तवमा त्यो बेला सरकारको नीति कार्यक्रममा कांग्रेसले समर्थन गर्ने कुनै निर्णय भएको थिएन तर प्रमुख सचेतक नै सचेत नभएर बसेकाले अन्य सांसदहरु रनभुल्लमा परेका मात्र हुन् । त्यहीबेला सभामुख महराले नीति कार्यक्रम सर्वसम्मती पारित भएको घोषणा गरेपछि खाणसहित कांग्रेसका सांसद ट्वाँ परेका थिए । यो बिषयमा खाणले पार्टी भित्रै ठूलो आलोचना सहनु परेको थियो ।
सभामुखको निर्वाचनका बेला कांग्रेसले महराबिरुद्ध आफनो उम्मेदवार पनि उठाएको थिएन । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मीन बिश्वर्माका अनुसार महरामाथिको बिश्वास र उनले निष्पक्ष भूमिका निर्वाह गरुन भनेर नै उनीबिरुद्ध उम्मेद्वार खडा गरिएको थिएन । ऐन, नियम, कानून निर्माणमा महराले बिपक्षी दललाई समेत बिश्वासमा लिएर अघि बढन सजिलो होस भनेर आफूहरुले उम्मेद्वार खडा नगरेको उनको भनाइ छ । तर, एक बर्ष नबित्दै उनै महरामाथि कांग्रेसले शृखंलाबद्धरुपमा गम्भीर प्रश्न उठाएको छ ।
तर, यी प्रश्न संसद्मा मात्र सिमित भए । सांसद् गगन थापा, मिनेन्द्र रिजाल, अमरेशकुमार र दिलेन्द्र बडुमा मात्र सिमित भए । सभामुखले सरकारसंग मिलेर संसदीय सर्वोच्चतामाथि नै धावा बोलेको निष्कर्ष निकालेपनि कांग्रेस बाहिर भने मौन छ ।
यतिसम्म की सरकारबिरुद्ध आन्दोलन घोषणा गर्दै भ्रातृसंगठनहरुलाई सडकमा उतारिसकेको कांग्रेस सभामुखका बिषयमा मौन छ । यदि सभामुखका कारण संसदीय व्यवस्था नै खतरामा परेको हो भने कांग्रेस केन्द्रीय समितिमा यो बिषयमा किन केही निर्णय भएन ? सडक आन्दोलन गरिरहेका नेबिसंघ, तरुण दल तथा महिला संघका ब्यानरमा किन सभामुखको बिषय लेखिएको छैन ? निर्मला पन्त हत्या प्रकरण, फुटकर केही भ्रष्टाचारका मुद्दा लगायतका बिषय समेट्न सक्ने कांग्रेसले सभामुखका बिषयमा चुँइक्क पनि गर्न नसक्नु रहस्यको पाटो भएको छ ।
सभामुख महरा आफैमा रोचक र रहस्यात्मक पात्र हुन् । चीनीयाँ नागरिकसंग ५० करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको प्रसंग होस वा सुन तस्करीको बिषयमा हामी त साना माछा हौं भनेर आफैलाई तस्कर जस्तो देखाएको बिषय किन नहोस, यी सबैले उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्र तथा गिरोहसंग घनिष्ट सम्बन्ध भएका व्यक्ति हुन भन्ने कुरा स्पष्ट गर्दछ । केही बर्षअघि उनले नेपालगंजबाट सरकारका एक सचिवलाई...म महरा बोलेको भन्दै जिल्लाको एक कार्यक्रममा बजेट छुट्याइदिन दिएको दबाब पनि सामाजिक संजालमा भाइरल बनेको थियो ।
नेकपा एमाले र माओवादी केन्द्रको सरकार रहेकाबेला एमालेलाई धोका दिएर कांग्रेससंग सरकार बनाउने चाँजोपाँजो यीनै महराले मिलाएका थिए । अझ अचम्म के भने चीनसंग नजिक भनिएका महरा एकाएक भारत निकट भएको चर्चा पनि यहीबेला चल्यो । उनका गतिविधि र भूमिकाले पनि धेरै अर्थमा यो बिषयलाई पुष्टि नै गर्यो । चीन र भारत दुवैसंग सन्तुलन मिलाउन सक्ने भन्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई खुबै प्रयोग गरे । मुलुक र पार्टीलाई फाइदा बेफाइदा केही नभएपनि उनी भने लगातार लाभको पदमा बस्न पाउने भाग्यमानी भए । उनको कला र शक्तिको महिमा अपरम्पार छ तर सबै भूमिगत शैलीमा ।
यीनै महराको भूमिकामाथि प्रश्न उठाउँदा कतै कांग्रेसलाई महंगो परिरहेको त होइन ? सांसद गगन थापाले सभामुखलाई महंगो पर्ने छ भनेर चेतावनी त दिए तर यो बिषयमा पार्टीमा औपचारिक छलफल र निर्णय नहुँदा थापाको भनाइ पानीको फोका जस्तै हराउने निश्चित छ ।
द्वन्द्वकालदेखि सरकार परिवर्तन र हालसम्मको राजनीतिक अवस्था, आर्थिक मामिला, ओसारपसार, साँठगाँठ लगायतका कतिपय अवस्थामा महरा र कांग्रेसका नेताहरुबीच सन्धी सम्झौता भएको कुरा कांग्रेसकै नेताहरुले बताउने गरेका छन ।
बिभिन्न कालखण्डमा महरासंग गरिएका व्यवहार नै आज कांग्रेसलाई गलपासो बनेको छ । संसद्मा महरामाथि चोर औंला ठड्याएर जति चिच्याए पनि संसद् बाहिर भने कांग्रेस नेताहरु महरासंग थुरथुर छन । बलवान महरा !