डेब्यू खेलमै छक्का र चौका हान्ने नेपाली क्रिकेटका अर्का ‘सन्दीप’
नेपाली क्रिकेटका भेट्रान लेग स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रियरुपमै चर्चित छन । उनले बिश्वका सबै चर्चित र प्रतिष्ठत लिग खेलिसकेका छन । आफनो जादुमय बलिङबाट उनले सबैलाई मोहित बनाउँदै नाम र दाम दुवै कमाइरहेका छन ।
सन्दीप लामिछाने जस्तै नेपाली क्रिकेटले अर्का सन्दीप पनि पाएको छ । यीनको नाम सन्दीप जोरा । यी सन्दीप बलर होइन ब्याटिङमा सुदृढ छन । युएईबिरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय क्रिकेटमा मौका पाएका सन्दीप जोराले आफनो प्रतिभा पुष्टि गर्दै भविश्यमा प्रतिभाशाली खेलाडी बन्ने स्पष्ट प्रमाण पेश गरेका छन ।
घरेलु क्रिकेटमा लोभलाग्दो प्रदर्शन गरेर राष्ट्रिय टोलीको ढोका ढक्ढक्याइरहेका युवा खेलाडी सन्दीप जोरा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ सदस्यका रूपमा सोमवारदेखि प्रवेश गरेका हुन ।
नेपाली कप्तान पारस खड्काले उनलाई युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अगाडि ’डेब्यु क्याप’ दिएर मैदानमा स्वागत गरे। युएई भ्रमणका बेलामा राष्ट्रिय टोलीमा समावेश गरिएका चार नयाँ अनुहारमध्ये जोरा एक हुन्।
पवन सर्राफ र ललित नारायण राजवंशीले पहिलो खेलमै टोलीमा प्रवेश पाएका थिए। भीम सार्कीले भने डेब्युका लागि कुर्नुपर्ने भएको छ।
जोरालाई सर्राफको स्थानमा खेलाइएको हो। शुरूका दुई खेलमा पवनले चार र आठ रन मात्र बनाउन सकेका थिए। यद्यपि जोरा १९ रन बनाएर आउट भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले कप्तान पारस खड्काको साथमा प्रभावशाली शुरूवात गरेका थिए ।
उनले आफूले सामना गरेको चौथो बलमा इमरान हैदरलाई छक्का प्रहार गरे। त्यस्तै उनले असफाक अहमदको बललाई बाउन्ड्री बाहिर पठाएका थिए। उनले पारससँगको चौथो विकेटका लागि ३० रनको साझेदारी गरेपछि आउट हुन पुगे। उनलाई इमरान हैदरले मोहम्मद उसमानबाट क्याच आउट गराएका थिए। २० बलको सामना गरेका उनले १९ रन बनाए।
जोरा सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको भीमदत्त नगरका बासिन्दा हुन्। सामान्य परिवारमा जन्मिएका जोराका बुबा भारतमा सुरक्षाकर्मीको काम गर्छन्। उनी सोमवार १७ वर्ष १०० दिनको भएका छन्।
अण्डर १९ राष्ट्रिय टोली र घरेलु टी २० प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टोलीको छनोटकर्ताको नजरमा परेका थिए।
गएको सेप्टेम्बरमा भएको यु १९ एसिया कपमा छनोट भएपछिको पहिलो खेलमा उनले युएईविरुद्ध ७४ बलमा ७६ रन बनाएर आफ्नो प्रतिभा देखाएका थिए भने भारतविरुद्ध २० बलमा २० रन बनाएका थिए।
२०७० सालमा धनगढीमा भएको यू १६ क्षेत्रीय प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेपछि उनी नेपाली क्रिकेटमा उदाएका थिए।