खुला दिसामुक्त कार्यक्रममा राजाजस्तै रातो तुलमा हिँडे मुख्यमन्त्री
दार्चुला । झुटो तथ्यांक देखाएर गत वैशाखमा दार्चुला जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो । तर, सदरमुकाममै सयभन्दा बढी परिवारको दिसापिसाब महाकाली नदीमा बग्छ । पूर्ण रूपमा चर्पी बनाएर मात्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लाका मिडियाले आवाज उठाउँदा पनि जिल्ला समन्वय समितिले घोषणासभा आयोजना गरेको थियो ।
बजेट मात्रै फर्स्योट गर्ने उद्देश्यले आयोजित घोषणासभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका लागि रातो तुल बिछ्याइएको थियो । राजाजस्तै तुलमा हिँडेर स्टेजमा गएका उनले दार्चुलालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गरेका थिए । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरा समेत दार्चुला पुगेका थिए । अतिथि सत्कार मै ६ लाखभन्दा बढी खर्च भएको थियो ।
सदरमुकाम रहेको महाकाली नगरपालिका – ४ घाट बजारका सयको हाराहारीका घरपरिवारको दिसापिसाब सिधै नदीमा बगाइन्छ । उनीहरूको सेफ्टीट्यांकी छैन । वडा नम्बर ५ तितरसैनका एक दर्जन परिवारले शौचालय बनाएका छैनन् । सदरमुकाममै यस्तो अवस्था छ भने ग्रामीण क्षेत्रमा कयौँ बस्तीमा शौचालय बनेका छैनन् ।
घोषणा हुनु पूर्व गतवर्ष १९ चैतमा बसेको जिल्ला स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको बैठकले महाकाली नगरपालिकाको ४ र ५ वडाका एक सय ११ परिवारसँग सेफ्टी ट्याँङ्की नभएको वा शौचालय नै नबनाइएकोले ती घरपरिवारलाई सेफ्टी ट्याङ्की निर्माण गराउन लगाएर मात्रै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । तर उनीहरूले यस्तो व्यवस्था नगर्दै घोषणासभा आयोजना गरियो । कार्यक्रममा जिल्लामा सत प्रतिशत नागरिकले शौचालय प्रयोग गरेको उल्लेख गरिएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट