दुई रुपैयाँमा पनि बिकेन बन्दा !
चितवन । नारायणगढ बजारमा आइतबार उपभोक्ताले तिर्ने बन्दाको मूल्य प्रतिकिलो ३० रुपैयाँसम्म थियो । नारायणगढदेखि पूर्व चैनपुर ज्यामिरेमा त्यही बन्दा प्रतिकिलो १० रुपैयाँमा बिकेको थियो । पर्सा बजारमा उपभोक्ता मूल्य २० रुपैयाँसम्म थियो । ज्यामिरे र पर्साको लभगभ बीचमा छ, खैरहनी नगरपालिका ६ को तुलसीपुर गाउँ । त्यहाँका किसानको खेतको बन्दा दुई रुपैयाँ किलोमा पनि बिक्न गाह्रो भएको छ ।
तुलसीपुरका पुरन महतोले डेढ बिघामा बन्दा लगाएका थिए । बिक्रीका लागि २० दिनअघि नै बन्दा तयार भएको हो । उनले अघिल्लो वर्ष पनि बन्दा लगाएका थिए । त्यो बेला प्रतिकिलो १४ देखि १७ रुपैयाँसम्म मूल्य आएको थियो । तर यो वर्ष अहिलेसम्म उनले एक किलो बन्दा बेच्न सकेका छैनन् । अब बन्दा बिक्री हुने आशा लगभग सकिएको छ । त्यसैले उनले शुक्रबार दिउँसो एक्साभेटर चलाएरै खेतबाट बन्दा हटाए ।
‘दुई रुपैयाँ किलो लैजाउ भन्दा पनि बिक्री भएन । अब बन्दा नहटाउने हो भने बोडी, करेला, घिरौंला लगाउन अबेला हुन्छ । त्यसैले हटाउनै पर्ने भयो,’ महतोले भने । हटाउन पनि खेताला नै लगाउनुपर्ने हुन्छ । बन्दा हटाउनै तीनचार हजार रुपैयाँ थप खर्च हुने भएपछि उनी दिक्दार थिए । चाँडो हुन्छ भनेपछि एक्साभेटर चलाए । एक्साभेटरले ४० मिनेटमा हटायो, १५ सय रुपैयाँ खर्च भयो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
चितवन बन्दा