News समाज देश

मोही हक दाबीको अन्तिम दिन भोली

मोही हक दाबीको अन्तिम दिन भोली

काठमाडौं। मोहीयानी हक सम्बन्धी भूमी व्यवस्थाका लागि कित्ताकाट छुट्ट्याउन निवेदन दिने अन्तिम दिन भोली माघ १५ गतेसम्म कायम गरिएको छ । मोहीयानी समस्या भएकाहरुले भोलिसम्म निवेदन दिन सक्ने मोहीयानी समस्या समाधान इकाईले बताएको छ । 

 

गत पुस १६ गते निवेदन दिन छुटेकाहरुलाई समेट्न पुनः एक महिनाको समय थप गरेको हो ।

 

माघ १५ गते भित्र मोही कमाइरहेको व्यक्ति स्वयम उपस्थित हुन नसकेपनि आफन्तले ७७ वटै जिल्ला स्थित भूमिसुधार कार्यलयमा गई निवेदन दिन सक्ने मोहीयानी समस्या समाधान इकाईका प्रमुख बिक्रमप्रसाद पाण्डेयले जानकारी दिए।

माघ १५ गते भित्र कुनैपनि व्यक्तिलाई खटाएर जसरि पनि निवेदन दर्ता गराएमा आगामी भदौ ४ गते सम्म एक पटक स्वयम जग्गा धनी र मोही उपस्थित भएर जग्गा छुट्ट्याउन पर्नेछ।

 

जग्गा छुट्ट्याउँदा मोहीले जग्गा कमाएर खाएको छ छैन, जग्गा धनीलाई कुत बुझाएको छ छैन भनेर जग्गाधनी र मोहीलाई सँगै राखेर छलफल हुन्छ। मोहीले कमाएको जग्गा मोहिकै नाममा लालपूर्जा दिने र मोहीलगत कट्टा गरेर जग्गा धनीको पनि छुट्टै लालपूर्जा वितरण हुने छ।

 

कुनै समयमा मोही भएर जग्गा कमाएका तर विगत लामोसमयदेखि सम्पर्कमा नआएका मोहीको हकमा भने जग्गा स्वतह सरकारको हुने छ। तर विगतमा कमाइरहेको मोहीले केहि गरि निवेदन नदिएमा भने मोहीको नाममा छुट्टै लालपूर्जा नहुने र संयुक्त नाममा लालपूर्जा दिने हुँदा भोलिका दिनमा मोहीले न्याए नपाउने वा कमाइरहेको जति जग्गा पनि नपाउने हुन सक्छ। त्यसैले जग्गा धनीभन्दा बढी मोहीलेनै चनाखो भएर निवेदन दर्ता गराई बाँडफाँडमा सहभागी हुनुपर्ने पाण्डेयले बताए।

 

एक भन्दा बढी जग्गा धनीको मोही कमाइरहेको भए पनि एउटै निवेदनमा सबै जग्गाधनीको व्यहोरा खुलाएर निवेदन दिनुपर्ने छ।

मोही भएको जग्गाको कित्ता अनुसार दुई लाख ७५ हजार बढी मोही देखिएपनि समग्रमा भने डेढरदुई लाख हारहारी मात्रै मोही रहेको भूमि व्यवस्था मन्त्रालयको अनुमान छ। विगतमा मोही देखिएपनि बिचमा लगत कट्टा गरेका मोहीको तथ्याङ्क एकिन नभएकोले कति संख्यामा मोहीले अहिले पनि जग्गा कमाईरहेका छन भन्ने खुलेको  छैन।

 

एक लाख ३५ हजार मोहीले निवेदन दिएपनि अझै ठूलो संख्यामा जग्गा कमाईरहेका मोही बाँकी रहेकोले उनिहरुले माघ१५ भित्र जसरि पनि भूमिसुधार कार्यालयमा गई निवेदन दर्ता गराएर बाँडफाँड प्रक्रियमा सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ।

मोहीयानी हक

विशेष