News Technology कर्पोरेट देश

व्यवस्थापिकाद्धारा तीन अर्ब रुपैयाँ बराबरको बक्यौंता रकम असुल्न दूरसंचारलाई निर्देशन 

व्यवस्थापिकाद्धारा तीन अर्ब रुपैयाँ बराबरको बक्यौंता रकम असुल्न दूरसंचारलाई निर्देशन 

काठमाडौं । व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई टेलिकम्युनिकेशन कम्पनीहरूले  बुझाउन बाँकी झण्डैं तीन अर्ब रुपैयाँ बराबरको बक्यौता रकम असुल्न निर्देशन गरेको छ । 

विकास समितिले दुई अर्ब ९६ करोड बराबरको बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन दूरसंचारलाई आइतबार निर्देशन दिएको हो । 

 

बक्यौता रकम असुली नभएको अवस्थामा अनुमतिपत्रअनुसार सेवा सञ्चालन नगरेका कम्पनीलाई यथाशीघ्र सेवा प्रारम्भ गराउन र अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।

दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म नौ कम्पनीको दुई अर्ब ९६ करोड ६५ लाख ८५ हजार रुपैयाँ बक्यौता छ । 

 

स्मार्ट टेलिकमको मात्रै एक अर्ब ४० करोड ६७ लाख ५८ हजार रुपैयाँ र युनाइटेड टेलिकमको ७९ करोड ४२ लाख ९५ हजार रुपैयाँ बक्यौता छ ।

 

समितिले दूरसञ्चार नीतिलाई समय सापेक्ष बनाउँदै दूरसञ्चार ऐन र नियमावलीको संशोधन प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र नवीकरण गर्दा दस्तुर रकम यथाशीघ्र टुङ्ग्याउन समेत निर्देशन दिएको छ ।

 

ग्रामीण दूरसञ्चार विकास कोषको उपयोगद्वारा अघि बढाइएका परियोजनामा भइरहेको ढिलासुस्तीलाई समाधान गर्दै तोकिएको समयमै गुणस्तर कायम हुने सुनिश्चिततासहित अघि बढाउने र त्यसको विवरण समितिमा उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

 

दूरसञ्चार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनुका साथै ग्रामीण क्षेत्रमा अझै पनि उक्त सेवा सहजरुपमा पाउन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै तोकिएको समयमै हिमालदेखि पहाड हुँदै तराई–मधेशसम्म थप टावर निर्माण गरी दुर्गम क्षेत्रमा रहेका ग्रामीण भेगका जनताले सहज सेवा पाउन सक्ने गरी कार्यक्रम थाल्न निर्देशन दिइएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिइन्।

 

समितिको बैठकमा सांसदले ग्रामीण दूरसञ्चार कोषको रकमको प्रभावकारीरुपमा सदुपयोग हुन नसकेको भन्दै लक्षित वर्गमा तत्काल सेवा तथा सुविधा पु¥याउन माग गरेका थिए ।

ठेक्का लागेको लामो समय भइसक्दासमेत काम नभएको भन्दै उनीहरुले किन त्यस्तो भएको हो, उचित जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिनुपर्ने माग गरेका छन् ।

 

समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङ्गले नेपाली नागरिकलाई सहज रुपमा सेवा दिने लक्ष्यका साथ विभिन्न चरणमा काम भइरहेको जानकारी दिँदै आगामी दुई वर्षभित्र देशका सबै क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा पुग्ने विश्वास व्यक्त्त गरे।

 

दूरसञ्चार प्राधिकरण मार्फत देशव्यापीरुपमा ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन प्रयास भइरहेको जानकारी दिँदै उनले केही ऐन, नियम तथा कानूनको समेत संशोधनको प्रक्रिया अगाडि बढेकाले समयमै काम हुने बताए ।

कसले कति तिरेन ?

प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै दस्तुर नतिर्ने कम्पनी स्मार्ट टेलिकम प्रा.लि हो । सरकारलाई यस कम्पनीले विभिन्न शिर्षकमा एक अर्ब ४० करोड ६७ लाख ५८ हजार ४ सय ४ रुपैयाँ भुक्तानी गुर्न बाँकी रहेको छ। 

फ्रिक्वेन्सी दस्तुर (पौष मसान्तसम्मको थप दस्तुर सहित) ९० करोड ६७ लाख ५८ हजार ४ सय ४ रुपैयाँ र नवीकरण दस्तुर वापतको किस्ता रकम ५० करोड गरि उक्त रकम बक्यौता रहेको हो ।

 

यस्तै खारेज नभएको तर सञ्चालनमा नरहेको युनाइटेड टेलिकम लिमिटेड (युटीएल) ले सरकारलाई ७९ करोड, ४२ लाख ९५ हजार ३१२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ। युटिएलले फ्रिक्वेन्सी दस्तुर (पौष मसान्तसम्मको थप दस्तुर सहित) ४८ करोड १४ लाख ४० हजार, कुल आयको ४ प्रतिशतले हुने रोयल्टी रकम वा किस्ता रकम (थप दस्तुर सहित) २१ करोड २३ लाख ५५ हजार ३१२ रुपैयाँ, नवीकरण दस्तुर वापतको किस्ता रकम १० करोड तथा जरिवाना ५ लाख रहेको छ ।

दूरसञ्चार प्राधिकरण

विशेष