News

बोल्नै नसक्ने भए अनसनरत डा. केसी 

बोल्नै नसक्ने भए अनसनरत डा. केसी 

काठमाडौं । उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उनको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्।

 

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए। केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। शरीरमा पोटासियम अत्यन्त न्यून छ। ‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने संभावना हुन्छ,’ श्रेष्ठले भने।

 

रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो। तर उनले नमानेका केसीका भाइ किशोरले बताए। प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ। ‘डब्लुबीसी निकै कम छ। उहाँको जुनसुकै अंगमा संक्रमण हुन सक्ने जोखिम छ,’ श्रेष्ठले भने।

 

गणेशमानसिंह भवनको साधारण शैयामा छन् केसी। पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 

डा. गोविन्द केसी

विशेष