News अर्थ बैंकिङ

नेपाल बैंकले पनि शुरु गर्‍यो सुलभ कर्जा प्रवाह, ४.५२ प्रतिशतको व्याजदरमा ५ करोडसम्म ऋण पाइने

कुन क्षेत्रमा कति ऋण पाइन्छ ?

नेपाल बैंकले पनि शुरु गर्‍यो सुलभ कर्जा प्रवाह, ४.५२ प्रतिशतको व्याजदरमा ५ करोडसम्म ऋण पाइने

काठमाडौं । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ अनुसार नेपाल बैंकले पनि सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न शुरु गरेको छ । बैंकले ४.५२ प्रतिशत ब्याजदरमै रु ५ करोड सम्मको सहुलियत कर्जा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको हो । 

 

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि भदौ २१ गतेको क्याबिनेटबाट स्वीकृत भएको थियो । यसपछि यो कार्यविधि अन्तर्गत रहेर यसअघि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३.३३ प्रतिशत मै सहुलियत कर्जा दिने कामको सुरुवात गरेको थियो । 

 

सरकारले राष्ट्रबैंकमार्फत यस्तो कर्जाको कार्यविधि बनाएर प्रत्येक बैंकलाई पठाइसकेकोले त्यसमा तोकिए अनुसारकै न्यून ब्याजमा लक्षित वर्गले ऋण पाउनेछन् । यो कार्यविधि अन्तर्गत शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्पपीडितहरुको निजी आवास निर्माण, एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जाहरुमा सरकारले ब्याज अनुदान दिनेछ । 

 

बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ । अर्थात् राष्ट्रिय वाणिज्य बैंकको अहिलेको आधार दर ७.५२ प्रतिशत रहेको र यसमा २ प्रतिशत विन्दू जोड्दा ब्याज ९.५२ प्रतिशत कायम हुन्छ ।  महिला उद्यमीहरुले लिने ब्याजमा ६ प्रतिशत अनुदान दिइएका कारण उनीहरुले ३.५२ प्रतिशतमै र अन्यमा ५ प्रतिशत अनुदान भएकोले ४.५२ प्रतिशत ब्याजमै ऋण पाउने छन् ।

 

ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको हुनेछ । तर, व्यवसायको प्रकृति अनुसार कर्जाको अवधि बैंक तथा बित्तीय संस्थाले तोक्न पाउने छुट समेत छ । यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाको सीमा प्रति ऋणि ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिका लागि पेश गर्नुपर्नेछ । 

 

कुन क्षेत्रमा कति ऋण पाइन्छ ?

व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा रु ५ करोडसम्म
शिक्षित युवा स्वरोजगार कर्जा रु ७ लाखसम्म
विदेशबाट फर्केका युवा परियोजना कर्जा रु १० लाखसम्म
महिला उद्यमशील कर्जा रु १५ लाखसम्म
दलित समुदाय व्यवसाय विकास कर्जा रु १० लाखसम्म
उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा रु ५ लाखसम्म
भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा रु ३ लाखसम्म

 

कुन कर्जामा के धितो राख्ने ?

कार्यविधिले तोकेअनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रवाह गर्दा १० लाख रुपैयासम्म सामूहिक जमानीका आधारमा र त्यसभन्दा बढी व्यवसायिक परियोजना धितोमा कर्जा प्रवाह गर्न सक्नेछन् । 

यस्तो कर्जा प्रवाह गर्दा परियोजनाको संभाव्यतालाई मुख्य आधारको रुपमा लिइनुपर्छ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित बैंक तथा बित्तीय संस्थाले निवेदनको सक्कल शैक्षिक प्रमाणपत्र धितो स्वरुप राख्नेछ ।

 

विदेशबाट फर्केका युवाहरुलाई उनीहरुमा रहेको ज्ञान तथा सीपसँग सम्बन्धित व्यवसाय संचालन गर्न परियोजना धितोमा राखिनेछ ।महिला उद्यमशीलता कर्जा एकल वा सामूहिक जमानीको आधारमा प्रवाह गरिनेछ। दलित समुदाय विकास कर्जा लिंदा एकल वा सामूहिक जमानीमा बस्नुपर्नेछ।


महिला उद्यमशीलता विकासका लागि प्रदान गरिने कर्जा, सामूहिक जमानीमा प्रदान गरिने १० लाख रुपैयाँसम्मको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा र दलित समुदायलाई प्रदान गरिने कर्जाको सुरक्षण देहाय बमोजिम हुनेछ ।

नेपाल बैंक

विशेष