News समाज

दुई हजार ८०७ सुरक्षाकर्मी शहीद घोषण

दुई हजार ८०७ सुरक्षाकर्मी शहीद घोषण

काठमाडौँ । सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । 

 

 

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । 

 

 

उनले भने, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले एउटा नयाँ काम गरेको छ, नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ लाई शहीद घोषणा गरिएकोे छ ।” 

 

 

यो सम्मानले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । 

 

 

छोटो समयमा सशस्त्र प्रहरीले असाधारण रूपले प्रगति गरेकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार क्रियाशील रहेको बताए । “भ्रष्टाचार रोक्न, नेपाल सरकार र सरकारी निकाय सजक छन्, म आफू गर्दिन, गर्न पनि दिन्न, यसमा कसैको अनुहार हेरिँदैन ।” उनले भने । 

 

 

अहिलेको सरकारले राजनीतिक प्रतिशोधका हिसाबले वा कुनै अनुचित हिसाबले भ्रष्टाचारको मुद्दा उठाएको नभई देशलाई भ्रष्टाचारमुक्त गराई विकासका कामलाई अगाडि बढाउने र स्वच्छता तथा पारदर्शी गर्ने कुरालाई ध्यानमा राखेर भ्रष्टाचारको कुरा उठाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

 

 

लोकतन्त्र प्राप्तिको कठिन यात्रा सफलताका साथ पूरा गरेर नमूनायोग्य र अनुकरणीय काम गरिएको स्मरण गराउँदै उहाँले शान्ति प्रक्रियाका अवशेष अझै बाँकी रहेकाले खाटो बसेको घाउमा मलम लगाउने बेला आएको बताए । 

 

 

उनले विभिन्न बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने, जनतालाई आतङ्कित पार्ने, शान्ति र सुव्यवस्था छैन भन्ने परिस्थिति सिर्जना गर्ने वा राष्ट्रिय अखण्डतामै असर पार्नेजस्ता देशद्रोही क्रियाकलाप हुन नदिने बताए । 

 

 

जनताबाट अभिभारा लिएर देशलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउने कुरा र सुशासन तथा समृद्धि र विकासका काममा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारे । 

 

 

उनले भने, “यस अवसरमा म सबैलाई आग्रह गर्न चाहन्छु, शान्ति हामी सबै नेपालीको साझा आकाङ्क्षा हो, देशको गौरव प्रतिष्ठा र सम्मान आज बढेको छ, बढाउँदै जानुपर्छ ।” 

 

 

विश्व आर्थिक मञ्चले ४९ वर्षमा पहिलोपटक नेपाललाई सम्झेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको विचार, दृष्टिकोण, अबस्था र आकाङ्क्षालाई डाभोसको बैठकमा प्रष्टरुपमा बताइएको उल्लेख गरे । उनले अनुपयुक्त ग्रन्थीमा अल्झिएर समृद्ध देश बनाउने अवसरलाई गुमाउन नहुने र सबै एकजुट र कर्तव्यनिष्ठ हुँदै अगाडि बढनुपर्ने औँल्याए । 

 

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको बताए । 

 

 

देश सङ्घीयताको कार्यान्वयनसँगै नयाँ शिराबाट अगाडि बढिरहेको परिप्रेक्षमा सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायको रुपमा अह्म भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो । 

 

 

सबै सुरक्षा निकायसँग समन्वय गरेर कार्य गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले यस सङ्गठनको जनशक्ति विस्तार गर्दै लगिने र सीमा अपराध नियन्त्रणका लागि स्तरवृद्धि गरी ‘बोडर आउटपोष्ट’लाई बढाउँदै लैजाने सरकारी योजना रहेको जानकारी दिए । 

 

 

अस्थायी गुल्मलाई स्थायी गर्ने र बाहिनीलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले योजना अघि बढाइएको छ भन्दै उनले अबको सुरक्षा प्रविधिउन्मुख हुने भएकाले समयानुकूल प्रविधि अवलम्बन गरेरसेवा विशिष्टीकरणका लागि सातै प्रदेशमा थप शिक्षालय स्थापना गरिने आश्वासन दिए । 

 

 

विपद् व्यवस्थापन तालीम केन्द्रले दक्ष जनशक्ति उत्पादन र खोज उद्धारमा उल्लेखनीय कार्य गरेको छ, यसैअनुरुप उच्च पहाडी र हिमालमा हुने विपद् उद्धारमा उच्च शिखर खोज तथा उद्धार शिक्षालय स्थापना गर्नेतर्फ आवश्यक तयारी भइरहेको छ भन्दै गृहमन्त्री थापाले यसका लागि मन्त्रालयमा योजना पेश गर्नसमेत सशस्त्र प्रहरीलाई निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीका सुझाव र निर्देशनलाई अक्षरशः पालन गर्दै देशको शान्ति र सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताए । 
 

शहीद

विशेष