भेनेजुएलामा चुलिएको राजनीतिक संकटको शान्तिपूर्ण समाधान हुनुपर्छ : सरकार

भेनेजुएलामा चुलिएको राजनीतिक संकटको शान्तिपूर्ण समाधान हुनुपर्छ : सरकार

काठमाडौं । सरकारले भेनेजुएलामा चुलिएको राजनीतिक संकटको शान्तिपूर्ण समाधान हुनुपर्ने बताएको छ । सरकारले राजनीतिक र संवैधानिक दिशा कस्तो हुने भन्ने त्यहाँका जनताको हातमा रहेको उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल भेनेजुएलाको शान्ति, स्थिरता र एकताको पक्षमा रहेको स्पष्ट पारेको हो ।

 

सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तर्फबाट अमेरिकालगायत मुलुकले भेनेजुएलामाथि हस्तक्षेप गरेको भन्दै कडा वक्तव्य दिएका थिए । यसमा अमेरिकी दूतावासले सरकारको आधिकारिक धारणा मागेको थियो । दाहालको वक्तव्यका कारण सरकारलाई नै अप्ठेरो परेपछि मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

 

‘भेनेजुएलाको राजनीतिक विकासक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘देशको राजनीतिक र संवैधानिक दिशा कता जाने भन्ने अन्तिम अधिकार भेनेजुएलाका जनतासँग छ ।’ मन्त्रालयले सरकारको स्थापित मान्यताबारे पनि स्पष्ट पारेको छ । ‘देशको आन्तरिक राजनीतिक समस्या संवैधानिक आधार, लोकतान्त्रिक विधि र बाह्य हस्तक्षेपबाट स्वतन्त्र भएर हल गर्नुपर्छ भन्ने नेपालको मुख्य मान्यता छ,’ विज्ञप्तिमा छ ।

 

अध्यक्ष दाहालले त्यहाँका राष्ट्रपति निकोलस मडुरोलाई समर्थन गर्दै अमेरिकाले ‘साम्राज्यवादी कु’ गर्न खोजेको आरोप लगाएका थिए । राष्ट्रिय सभाका अध्यक्ष जुवान गुइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट चुलिएको छ ।

परराष्ट्र मन्त्रालय भेनेजुएला

संम्बधित खबर

विशेष