News

डा केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर, मागप्रति गम्भीर बन्न आग्रह

डा केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर, मागप्रति गम्भीर बन्न आग्रह

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेकी छन् । 

 

सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाइ ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्रा. डा. केसीले १६ औँ अनशन शुरु गरेका थिए । हाल सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । 

 

प्रा. डा. केसीले अनशन शुरु भएको आज २३ दिन भएको छ । उनका उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर हुँदै गएको जनाएका छन् । पूर्वप्रन्या कार्कीले शिक्षण अस्पतालमा डा. केसीलाई भेटगरेपछि सञ्चारकर्मीसित सङ्क्षिप्त प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा सुधारका लागि प्रा. डा. केसीले उठान गरेका विषय वस्तुमा सरकार गम्भीर हुनुपर्ने बताइन्। 

 

अर्का पूर्वप्रन्या कल्याण श्रेष्ठले मङ्गलबार डा. केसीलाई भेट गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. केसीले उठान गरेका माग विधेयकमा सम्बोधन भइसकेको बताउँदै आएका छन् । 

 

अर्कोतर्फ प्रा. डा. केसीको जीवन रक्षा र उनले उठान गरेका मागमा ऐक्यबद्धता जनाउँर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन जारी राखेको छ । शिक्षण अस्पताल प्रशासनले अस्पताल हातभित्र अनशन, रिले अनशन तथा विरोधका कार्यक्रम नराख्न तथा नगर्न स्वास्थ्यकर्मीमा आग्रहसमेत गर्दै आएको छ । 

 

यसैबीच विभिन्न पेशागत सङ्घले अनशनरत् प्रा डा केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेका छन् । पेशागत सङ्घका तर्फबाट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज एक विज्ञप्ति प्रकाशित गरी सो आग्रह गर्नुभएको हो । 

 

यसरी माग गर्ने पेशागत सङ्घमा नेपाल डेमोक्रेटिक प्राध्यापक सङ्घ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर नेपाल, नेपाल शिक्षक सङ्घ, नेपाल स्वास्थ्यकर्मी एशोसिएशन , डेमोक्रेटिक लयर्स एसोसिएसन पेशागत महासङ्घ, नेपाल सांस्कृतिक सङ्घ, त्रिविवि प्राध्यापक सङ्घलगायत रहेका छन् ।

प्रा. डा. गोविन्द केसी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

विशेष