News

त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत

त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरले चालु आवको पाँच महिनामा करिब ३६ किलो सुन जफत भएको जानकारी दिए। उनले भने, ‘परिमाणभन्दा बढीको हकमा जफत हुने व्यवस्था छ। सोही आधारमा सुन जफत गरिएको हो।’

 

विगतमा ५० ग्रामसम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था भए पनि काँचो सुन पूर्णप्रतिबन्ध थियो। आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम पाँच हजार दुई सय रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ भन्सार लिने व्यवस्था छ। आर्थिक ऐन २०७५ मा एक सय ग्रामसम्म सुन ल्याउने सकिने र एक सय ग्रामभन्दा बढी परिमाणमा सुन पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिने उल्लेख छ। यो व्यवस्थाले तस्करी बढ्न सक्ने भन्दै आलोचना भएको थियो।

 

विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन सक्छन्। सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुने र जफत गरिएको सुन बराबरको थप रकमसमेत तिर्नुपर्ने हुन्छ। जफत गरिएको सुन राष्ट्र बैंकमा बुझाउने गरिन्छ। उक्त सुनको बजार मूल्यअनुसारको रकम सरकारी खातामा जम्मा हुने ठाकुरले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 
 

त्रिभुवन विमानस्थल सुन जफत

विशेष