पहिलो पटक जागिर पाउन कम्युटरबाट परीक्षा, पास भए नभएको तत्कालै थाहा हुने
काठमाडौं । नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ । सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणालीको प्रयोग गर्न लागिएको हो ।
करारमा नियुक्त गर्न लागिएका संयोजकहरूको परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिनुपर्ने व्यवस्था मिलाउन लागेको हो । रोजगार संयोजकका लागि दिइने आवेदन पनि पूर्णरूपमा अनलाइनमार्फत् नै भर्ने व्यवस्था मिलाइएको छ । शुक्रबारसम्म रोजगार संयोजकका लागि फर्म भने म्याद तोकिएको छ ।
आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रारम्भिक छनोटमा परेकाहरूको अन्तिम छनोट कम्प्युटरबाटै गर्ने व्यवस्था गर्न लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले संयोजकको छनोट प्रक्रियालाई निष्पक्ष बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशनअनुसार कम्प्युटरबाटै परीक्षा लिने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।