बरै ! १२ वर्षकै उमेरमा आमा बनिन् गंगा
काठमाडौं । सामान्यतया नेपालमा महिलाले बिहे गर्ने उमेर २० पारी हुन्छ । समाजमा भनाइ नै 'छ बिहेबारी २० वर्ष पारी' । त्यसपछि नै सचिन्छ शिशु जन्माउने कुरा । तर काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा बुधबार दिउँसो एक १२ वर्षीया बालिकाले शिशु जन्माइन् ।
दिउँसो करिब सवा ३ बजे उनले छोरी जन्माएकी हुन् । शारीरिक अंगहरूको पूर्ण रूपमा विकास नभइसकेको भन्दै चिकित्सकहरूको सल्लाहअनुसार उनको शल्यक्रियाबाट बच्चा जन्माइएको हो । १२ वर्षमै शिशुलाई जन्म दिने आमाको नाम हो गंगामाया चेपाङ । उनले २ दशमलब ९ सय ग्रामको स्वस्थ बच्चालाई जन्म दिइन् । अहिले उनी र शिशुको स्वास्थ्य समान्य रहेको अस्पतालले जनाएको छ ।
उनी १२ वर्षकै उमेरमा गर्भवति भएको भन्ने समाचार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा उनलाई महिना दिन अगाडि काठमाडौं छिकाएर थापाथलीस्थित प्रसूतिगृहमा राखिएको थियो । कम उमेरमै गर्भवति भएका कारण कुनै पनि बेला जटिल समस्या आउने भएकाले उनलाई त्यहाँ चिकित्सकले निरन्तर निगरानीमा राखेका थिए ।
उनी राक्सिराङ–३, पलाँसेस्थित सूर्योदय माविमा कक्षा–४ मा पढ्दै थिइन् । तर मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका कक्षा ३ मा पढ्ने रञ्जितसँग प्रमेमा परेपछि २०७४ पुस ८ गते उनीहरूले भागी बिहे गरेका थिए ।
गंगा चेपाङ