News

केयुकेएल किन खन्दैछ  धमाधम डिप ट्युबवेल ?

केयुकेएल किन खन्दैछ  धमाधम डिप ट्युबवेल ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले हरेक वर्ष पाँचवटाजति नयाँ डिप ट्युबवेल बनाउने गर्छ । ९० वटा डिप ट्युबवेल सञ्चालन गर्दै आएको केयुकेएलले यो वर्ष पनि नयाँ ट्युबवेल खन्ने काम जारी राखेको छ । उपत्यकामा पानी अभावका कारण नयाँ ट्युबवेल बनाउनुपर्ने माग अत्यधिक रहेको उसले जनाएको  छ । तर, सञ्चालन भएरहेको र नयाँ बन्दै गरेका ट्युबवेलको पानी मेलम्चीको पानी काठमाडौं आएपछि सञ्चालन गर्न सजिलो नरहेको केयुकेएलले जनाएको छ ।

 

नयाँ पाइपलाइनबाट शुद्धीकरण गरिएको पिउनयोग्य मेलम्चीको पानी वितरण गर्ने तयारी केयुकेएलको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले मेलम्चीको पानी वितरणका लागि  बिछ्याइएको पाइपलाइन सफा गर्दै छ । मेलम्चीको पानी आएपछि पाइपलाइन पुनः निर्मलीकरण गरेर मात्र पानी वितरण गर्ने तयारी निर्देशनालयको छ । 

 

‘मेलम्चीको पानी जान नसक्ने स्थानबाहेकका स्थानमा गाडिएका ट्युबवेलमा हामीले गर्दै आएको लगानी व्यर्थमा खेर जाने सम्भावना रहन्छ,’ केयुकेएलका महाप्रबन्धक महेशकुमार भट्टराईले भने । एउटा ट्युबवेल खन्न र सञ्चालनमा ल्याउन कम्तीमा एक करोड खर्च हुने र ट्युबवेलको पानी शुद्धीकरण गरेर उपभोक्ताको धारामा वितरण गर्न र पाइपलाइन बिछ्याउन थप लाखौँ खर्च हुने उनले बताए । ९० भन्दा बढी प्रशोधन केन्द्र सञ्चालन गर्न प्राविधिक र आर्थिक दुवै रूपमा सम्भव नरहेको र प्रशोधन नगरिएको पानी मेलम्चीको पानी वितरण गरिने पाइपलाइनमा मिसाउँदा पाइपलाइन नै दूषित हुने उनको भनाइ छ ।

 

 गाडेको पाइप त्यत्तिकै पुरिनेछ 
मेलम्चीको पानी वितरणका लागि उपत्यकाभरि नै नयाँ पाइपलाइन बिछ्याउने कार्य जारी छ । मेलम्चीको पानी काठमाडौं आएपछि नयाँ विछाइएको पाइपलाइनबाट पानी वितरण गरिनेछ भने पुरानो पाइप त्यत्तिकै छाडिने निर्देशनालयले जनाएको छ । लिमिटेडले नयाँ पाइप बिछ्याउन र मर्मतसम्भारका लागि बर्सेनि करिब पाँच करोड रुपैयाँ खर्च गर्दै आएको छ । ‘पुरानो पाइप त्यत्तिकै छाडिने हुँदा अहिले भइरहेको खर्चको कुनै अर्थ नै हुन्न,’ महाप्रबन्धक भट्टराईले भने, ‘दुई–चार महिनाका लागि होइन, एउटा पाइपको आयु धेरै वर्षको हुन्छ । तर, मेलम्ची कहिले आउँछ भन्ने यकिन नहुँदा खर्च गर्न बाध्य हुनुपरेको छ ।’

 

नयाँ धारा र पाइपलाइन विस्तारको माग अत्यधिक
उपत्यकामा नयाँ बस्ती विस्तार तीव्र रूपमा भइरहेकाले नयाँ पाइपलाइन विस्तार र नयाँ धाराको माग अत्यधिक रहेको केयुकेएलले जनाएको छ । केयुकेएलका अनुसार पाइपलाइन विस्तार र नयाँ धाराका लागि हरेक दिन जनप्रतिनिधिसहित स्थानीय जनताको एक दर्जनभन्दा बढी डेलिगेसन आउने गरेको छ । तर, पाइपलाइन विस्तारका लागि बर्सेनि ६४ करोडजतिको माग भए पनि केयुकेएलले जम्मा चार करोड मात्र बजेट छुट्याउने गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

उपत्यका खानेपानी लिमिटेड

विशेष