नक्कली सुन दिएर ४० लाख ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौं काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।
यसैगरी, काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडौं बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडौं तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बिहीबार जानकारी दिएको छ ।
उनीहरुले एक किलो नक्कली सुन दिएर उक्त रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नक्कली सुन गिरोह पक्राउ