News विदेश

एशिया प्यासिफिक समिटः भारतीय संसदमा प्रशंशा 

एशिया प्यासिफिक समिटः भारतीय संसदमा प्रशंशा 

काठमाडौं । नेपालमा एशिया प्यासिफिक समिटलाई विवादमा पार्न खोजिए पनि भारतीय संसदमा भने सो सम्मेलनले प्रशंसा पाएको छ । 

 

भारतीय संसद भवनमा आयोजित एक विशेष कार्यक्रममा भएको छलफलमा सम्मेलन सफलतापूर्वक सम्पन्न हुनुलाई ठूलो उपलब्धीका रुपमा लिइएको छ । कार्यक्रममा समिट आयोजक समितिका सहअध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल विशिष्ट अतिथिका रुपमा आमन्त्रित थिए । 

 

कार्यक्रममा बोल्दै सांसद तथा भारतीय राष्ट्रिय कांग्रेसका नेता भुवनेश्वर कलीताले एसिया प्यासिफिक समिटमा भारतबाट ५७ जना बिशिष्टसहित ३४० जनाले सहभागिता जनाएको बताउँदै समिटको सफलतामा भारत खुशी रहेको उल्लेख गर्दै आयोजकहरुलाई बधाई दिएका थिए । 

 

उनले सम्मेलनको घोषणापत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय संसदका सभामुखलाई समेत प्रस्तुत गरिने जानकारी दिए । भारतीय जनता पार्टीका नेता तथा आइक्याप स्थाई समिति सदस्य विजय जोलीले आफ्नो जीवनमा सहभागी भएको सम्मेलन मध्ये  एसिया प्यासिफिक समिट एक उत्कृष्ट, व्यबस्थित र भब्य कार्यक्रम रहेको उल्लेख गर्दै नेपालले ठूला कार्यक्रम सफलताका साथ आयोजना गर्न सक्ने प्रमाणित गरेर देखाएको विचार राखे । उनले सम्मेलनको क्रमममा  भारत र पाकिस्तानका पूर्वप्रधानमन्त्रीहरु बीच भएको संवादले महत्व राख्ने धारण ब्यक्त गरेका थिए ।

बिशिष्ट अतिथि एकनाथ ढकालले सम्मेलनमा मित्रराष्ट्र भारतको उच्च स्तरीय सक्रिय सहभागिता तथा योगदानको लागि धन्यवाद दिए । आइएपिपी एशिया प्रशान्त क्षेत्रका संयोजकसमेत रहेका ढकालले  एशिया प्यासिफिक समिटले जारी गरेको घोषणापत्रहरुको बारेमा जानकारी दिँदै सम्मेलनमा भएका संवादहरुले भारत र नेपाललाइ मात्र नभई सिंगो प्रशान्त क्षेत्रका सरकार, संसद र आम नागरिकबीच घनिष्ट सम्बन्ध स्थापित गर्न  सफल भएको बताए । 

 

नेसनल ल बिश्वबिद्यालयका उपकुलपति  प्राध्यापक डा. रणवीर सिंहले विवेकको दुरुपयोगले समाजमा समस्या सिर्जना गर्ने बताउदै शान्ति, सुशासन र मानवअधिकारको संरक्षणमा सहकार्यको आबश्यकता औल्याएका थिए । भारतीय जनता पार्टीका सांसदहरु रामेश्वर तेली, कामाख्याप्रसाद तासा, रामसिंह  रथ्वा,  धीरजप्रसाद साहु लगायतले एशिया प्यासिफिक समिटले एशिया प्रसान्त क्षेत्र र विश्वमा शान्ति , भातृत्व र सहकार्यको सन्देश दिन सफल भएको भन्दै कार्यक्रम निरन्तरताको शुभकामना दिएका थिए । भारतीय राष्ट्रिय कांग्रेसका सांसदहरु  डा. ठोक्चोम मेंया, विन्चेंत पाल, केसी रामामूर्तिलगायतले एसिया प्यासिफिक समिटको घोषणापत्रमा ऐक्यबद्धता जारी गरेका थिए । त्यसै गरी सांसदहरु एन. गोकुला कृष्णनन्, तिरुची  सिवा, प्रोफेसर वोर्ल्ड, पिस एकडेमी भारतका महासचिब प्राध्यापक डा. प्रमोदकुमारलगायतले एशिया प्यासिफिक समिटको उपलब्धिको बारेमा चर्चा गरेका थिए । 

 

पूर्वमन्त्री ढकाल भारतीय सांसदहरुको निमन्त्रणामा दुइ दिने  दिल्ली भ्रमणमा क्रममा यस्तो कार्यक्रमको आयोजना गरिएको थियो । दिल्लीमा रहँदा ढकालले  विभिन्न उच्च स्तरीय भेटघाट गर्ने तथा छलफल हुन सक्ने ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए । 
 

विशेष