टेलिकमका नयाँ प्रबन्ध निर्देशक भन्छन्, ‘भ्रष्टाचारविरुद्ध शुन्यसहनशीलता कायम गर्छु’ (भिडियोसहित)
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले सोमबार एक विशेष कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा सरकारले नियुक्ती दिएको बताएका छन् । सो अससर प्रदान गरेकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गर्दै टेलिकम भित्र भएका विकृति र विसंगति हटाउँदै आर्थिक, प्राविधिक तथा नीतिगत भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने उद्घोष गरेका छन् ।
काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगर्ने बताउँदै आफू त्यस्तो प्रवृत्तिविरुद्ध डटेर लाग्ने बताएका छन् ।
सोही अबसरमा उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैअगाडि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गरेका छन् ।
परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकूल सम्बोधन गर्ने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाउने, फोरजी परियोजनालाई समयमा सम्पन्न गर्ने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गर्ने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए ।
त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नवनियुक्त अधिकारीले यस्तो प्रतिवद्धता व्यक्त गरेपनि टेलिकम भित्रको समस्या पूर्णतःहल हुने र व्यवस्थापनमा कायापलट हुनेमा ढुक्क हुने अवस्था भने छैन । केही कानुनी जटिलता, परम्परावादी शैलीका कारण आशातित उपलब्धी हासिल गर्न नयाँ प्रबन्ध निर्देशकका लागि चुनौतीपूर्ण हुन सक्छ ।
यतिखेर टेलिकमको फोरजी सेवामा अनियमिता भएको भन्ने सवालमा समेत बजारमा व्यापक चर्चा परिचर्चा चलिरहेको छ । जम्मा चार अर्बको लागतमा फोरजी सेवा जडान गर्न सकिनेमा १९ अर्ब लागत देखाएर चिनियाँ कम्पनी हुवावेसँगको प्रशंगले बतार तरंगीत पारिरहेको छ । यस्तो अवस्थामा नयाँ प्रबन्ध निर्देशकको कार्यशैली के कस्तो हुने हो हेर्न बाँकी छ ।
नेपाल टेलिकम