एनसिसीको सबै हकप्रद शेयर नागरिक लगानी कोषले उठाउने
काठमाडौं। नागरिक लगानी कोषले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी)को सबै हकप्रद शेयर उठाउने भएको छ । बैंकले नबिकेको ६५ लाख १६ हजार ७९५ कित्ता संस्थापक शेयर र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण शेयर बोलकबोल लिलामको लागि आह्वान गरेकोमा कोषले सबै शेयर किन्ने भएको हो ।
बैंकको १०० रुपैयाँ अंकित दरका शेयरमा कोषले संस्थापकमा १०१ रुपैयाँ र सर्वसाधारणमा १९१ रुपैयाँको दरले बोलकबोल लिलाममा आवेदन दिएको छ। बैंकले माग गरिएभन्दा बढिको लागि आवेदन परेपछि बिक्री प्रवन्धक सनराइज क्यापिटलले आज शिलबन्दी बोलपत्र खुला गरेको हो। यसअघि एनसिसी बैंकको संस्थापक शेयरमा कर्मचारी सञ्चय कोषले रुची देखाएको थियो। बैंकको प्रमुख शेयरधनीहरु एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद नभरेपछि लिलाम गर्नु परेको हो। उनीहरुले नसकारेको हकप्रदलाई बैंकले बोलकबोलमार्फत बिक्री खुला गरेको हो।
संस्थापकतर्फ ११९ वटा र सर्वसाधारणको लागि ४ हजार ९२२ वटा आवेदन परेको छ। सम्पुर्ण शिलबन्दी खोल्न आज दिनभरी लाग्ने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले बताए। अहिलेसम्म खोलिएका खामबन्दिमा संस्थापकको लागि अधिकतम १४५ रुपैयाँ र न्युनतम १०० रुपैयाँको लागि आवेदन परेको छ। दोस्रो बजारमा बैंकको साधारण शेयर २१३ रुपैयाँमा कारोबार भइरहेको छ। एक वर्षको अवधिमा अधिकतम ३४० रुपैयाँ र न्युनतम १७२ रुपैयाँ सम्ममा कारोबार भएको थियो। बैंकलाई ८ अर्ब रुपैयाँ पूँजी जुटाउन अझै ९९ करोड रुपैयाँ आवश्यक पर्छ। थप पूँजीको लागि बैंकले बोनस शेयरबाट जुटाउने घोषणा गरेकोले बोलकबोलमा आकर्षण देखिएको हो।
लिलाममा निकालिएको शेयर कायम सात अर्ब पूजीको ११ प्रतिशतमाथि हो। पछिल्लो समय बोलकबोल गरिएका शेयर बिक्री नहुने प्रबृत्ति देखिएकोमा यस पटक भने नागरिक लगानी कोषले माग गरिए बराबरकै लागि आवेदन दिएको छ। नागरिक लगानी कोषले पछिल्लो समय शेयर बजारमा आक्रमक रुपमा छिर्ने रणनीति बनाएको छ।
कोषले सर्वसाधारण तर्फको लागि २६ करोड ६२ लाख रुपैयाँ र संस्थापक तर्फको लागि ६५ करोड ८१ लाख रुपैयाँको आवदेन दिएको छ। यसो हुँदा कोषले ९२ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर लिन कबुल गरेको हो। कोषले पछिल्लो समय प्राथमिक बजार तथा दोस्रो बजारबाट शेयर उठाइरहेको छ। दोस्रो बजारमा स्टक डिलरको काम गर्नको लागि योजना बनाएको कोषले विभिन्न कम्पनीमा आफ्नो होल्डिङ बढाइरहेको छ।
नागरिक लगानी कोष